Wednesday, June 3, 2026
Homeस्वास्थ्य र जीवनशैलीफिट मानिसलाई पनि किन हुन सक्छ हृदयाघात ? यस्ता छन् कारण र...

फिट मानिसलाई पनि किन हुन सक्छ हृदयाघात ? यस्ता छन् कारण र सावधानी

काठमाडौँ । नियमित व्यायाम गर्ने, स्वस्थ खानपान अपनाउने र उच्च रक्तचाप वा मधुमेह नभएका मानिसलाई हृदयाघात हुँदैन भन्ने आम धारणा छ । तर यो पूर्ण रूपमा सही होइन । पूर्ण रूपमा स्वस्थ देखिने मानिसहरूलाई पनि हृदयाघात हुन सक्ने चिकित्सकहरू बताउँछन् ।

विशेषज्ञहरूका अनुसार मुटुको स्वास्थ्य जीवनशैलीमा मात्र निर्भर हुँदैन । आँखाले देख्न नसकिने कैयौँ जोखिम कारकहरूले पनि हृदयाघात निम्त्याउन सक्छन् । त्यसमध्ये आनुवंशिक कारण वा पारिवारिक इतिहास महत्त्वपूर्ण मानिन्छ । यदि कसैका आमाबाबु वा नजिकका आफन्त सानै उमेरमा हृदयरोगबाट पीडित भएका छन् भने उनीहरूमा फिट भए पनि हृदयाघातको जोखिम रहन्छ ।

उमेर पनि अर्को प्रमुख कारक हो । ४० वर्षपछि हृदयाघातको जोखिम बिस्तारै बढ्दै जान्छ । पुरुषहरूमा यो समस्या पहिले देखिन सक्छ भने महिलाहरूमा महिनावारी बन्द भएपछि जोखिम बढ्ने सम्भावना
हुन्छ ।

यसैगरी, सोरायसिस वा रुमेटोइड अर्थराइटिस जस्ता इन्फ्लेमेटरी (सुन्निने) रोगहरूले पनि मुटुको धमनीमा क्षति पुर्‍याउन सक्छन् । यस्तो अवस्थामा रगत जम्ने सम्भावना बढेर हृदयाघातको जोखिम बढ्न सक्छ ।

जोखिम कारकहरू

नियमित व्यायाम गर्ने व्यक्तिलाई पनि उच्च कोलेस्ट्रोल वा उच्च रक्तचाप हुन सक्छ । यी समस्या कहिलेकाहीँ लक्षण नदेखिने भएकाले २० वर्षको उमेरपछि प्रत्येक ४ देखि ६ वर्षमा कोलेस्ट्रोल जाँच गराउन चिकित्सकहरूले सुझाव दिएका छन् ।

लामो समयसम्मको तनाव पनि हृदयाघातको प्रमुख कारण बन्न सक्छ । तनावले रक्तचाप र कोलेस्ट्रोल बढाउन सक्छ, जसले मुटुको रोगको जोखिम बढाउँछ ।

चेतावनीका सङ्केत

हृदयाघात हुनुअघि शरीरले केही सङ्केत दिन सक्छ । जस्तैः
– छातीमा दबाब वा हल्का पीडा महसुस हुनु
– बङ्गारा, घाँटी, काँध वा पिठ्यूँमा पीडा हुनु
– अचानक सास फेर्न गाह्रो हुनु
– व्यायाम गर्दा चक्कर लाग्नु वा बेहोस हुनु
– महिलाहरूमा अत्यधिक थकान, छातीमा असहजता वा सास फेर्न गाह्रो हुनु

बच्ने उपाय

– नियमित रूपमा रक्तचाप, सुगर र कोलेस्ट्रोल जाँच गराउनुहोस् ।
– परिवारको रोगसम्बन्धी इतिहास थाहा पाई चिकित्सकसँग परामर्श लिनुहोस् ।
– तनाव व्यवस्थापनका लागि योग, ध्यान वा माइन्डफुलनेस अभ्यास गर्नुहोस् ।
– धूम्रपान वा भ्यापिङको सेवन नगर्नुहोस् ।
– सन्तुलित र स्वस्थ आहार अपनाउनुहोस् ।

(यो सामग्री सामान्य जानकारीका लागि मात्र हो । स्वास्थ्यसम्बन्धी समस्या भएमा विशेषज्ञ वा चिकित्सकसँग परामर्श लिनु उपयुक्त हुन्छ ।)

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका