फिजी जाने पहिलो जहाजले ४६३ जना यात्री बोकेको थियो। जुन ७५ दिन लगाएर कलकत्तााबाट फिजी पुगेको रहेछ। त्यसपछिका हरेक जहाजमा सय जनासम्म नेपाली फिजी पुगेको अनुमान छ।
नेपालको माटो चुमेर मर्न चाहन्छन्, नेपाली मूलका फिजियनहरू। मर्नुअघि एकपटक पशुपतिनाथ, बौद्धनाथ, मुक्तिनाथ आदि पुग्ने इच्छा राख्छन् उनीहरू। पाँचौं पुस्ता पुगेका फिजीका नेपालीहरूको पहिलो पुस्ता त बैकुण्ठ बास पुगिसके। दोस्रो पनि अधिकांश, तेस्रो उमेर पाकेकाहरूको चाहना र मन भने देवभूमि मानिएको पितृभूमि नेपालसँगै जोडिएको छ। जसो गरे जहाँ गए, आखिर यो मन त मेरो नेपाली हो।
सय वर्ष भन्दाअघि मुटुमा ढुंगा राखेर बाध्यवश फिजी पुगेका नेपाली भाषा, संस्कृति र भोजनबारे जान्न र सिक्न चाहन्छन्। फिजीमा योगा र वैदिक संस्कृति प्रशिक्षण गर्न सिड्नीबाट फिजी पुग्ने गरेका आचार्य राजन शर्माका अनुसार फिजीमा नेपालीहरू नेपालप्रति अगाध श्रद्धा राख्छन्। भाषा भुले संस्कृति हरायो तर मातृभूमिसँग भाषासंस्कृतिमार्फत पुनः जोडिन चाहन्छन्। उनी फिजीमा योग प्रशिक्षक र वैदिक संस्कृतिका सद्भावना दूत पनि हुन्। उनले कोभिड–१९ अघि ५ वर्षसम्म बेलाबेलामा त्यहाँ नेपाली भाषा पढाए, संस्कृति सिकाए। हाल केहीले टुटफुट नेपालीमा भाषण गर्न सक्ने भएको बताउँछन् राजन। उनले राजधानी सुभा मा“कलौ शक्ति संघनामक संस्था खोलेर नेपाली भाषा संस्कृतिलाई जोड्दैछन्। हाल सिड्नीमा भए पनि फिजीका नेपालीबीच निरन्तर सम्पर्कमा रहेका छन्।
फिजियन नेपालीहरू नेपालप्रति अगाध प्रेम, जातीय एकता भएको देख्ने चाहना राख्छन्। उनीहरू नागरिकता र पासपोर्टबिना भारतीयसँगै मजदुर भएर फिजी पुगे। राजनका अनुसार नागरिकता र पासपोर्ट बोक्ने नेपालीभन्दा उनीहरूको नेपाल प्रेम उच्च छ। पुर्खादेखि गाईवस्तु पाल्ने, घाँसदाउरा गर्ने बानी भएका फिजियन नेपालीहरू आज पनि सिगाटोका गाउँ नजिक पहाडमा गाई चराउन जाने र दूध, दही, घिउ खाने र बेच्ने गरेको प्रवीण देव घर्ती बताउँछन्। आफूले गौपालन र घाँसदाउरा गरे पनि आफ्ना छोराछोरीलाई पढाएका कारण शिक्षण पेसामा रहेको उनी बताउँछन्। यस्तै अरूले पनि हिजोआजका पुस्तालाई पढाएको जनाए। घर्तीका अनुसार फिजियन नेपालीहरूको जीवनस्तर गरिबीको रेखाभन्दा माथि रहेको र के खाउँ के लाउँ भन्ने समस्या छैन। तर नेपाली भाषा र संस्कृतिबाट टाढा रहेको दुःखेसो भने सधैं मनमा छ।
फिजीको राजधानी सुवाबाट १९० किलोमिटर टाढा सिगांटोका सहरमा रहेको हेलम्बु गाउँ जहाँ सबैभन्दा बढी नेपाली छन् ।
कसरी र कहिले फिजी पुगे नेपाली
बेलायतीहरूले भारतमा राज गर्दा फिजीमा चिनी कारखाना खोले। उखुखेती गर्न मजदुर सन् १८७९ देखि भारतीय पुगेसँगै नेपाली कामदार लगे। त्यस वर्ष कलकत्ताबाट फिजी पुगेको पहिलो जहाज लियोनिदासमा नेपालबाट भारतमा काम खोज्दै जाने नेपाली पनि भारतीयको समूहमा मिसिएर त्यहाँ पुगेको पाइन्छ। भारतको गोरखपुर भएर धेरै नेपाली गएका हुँदा पूर्वका भन्दा पश्चिम नेपालका पहाडिया बढी पुगेका हुन् कि भन्ने अनुमान छ। फिजी जाने पहिलो जहाजमा ४६३ जना यात्री बोकेको त्यो जहाज ७५ दिन लगाएर कलकत्ताबाट फिजी पुगेको रहेछ। त्यसपछिका हरेक जहाजमा १ सय जनासम्म नेपाली पुगेको अनुमान छ।
रोजगारी र विदेशमा काम गरेर सुनौलो जीवन बिताउने सपना बोकेका धेरै नेपाली त्यहाँ पुगे। त्यसैताका सन् १९३६ मै बेलायतीले पनी केही गोरखा सेना बर्माका मयाडले लगेका थिए। पछि धेरै नेपाली रोजगारी खोज्दै बर्मा पुगे। तर त्यहाँ भने भाषा संस्कृति जीवितै छ। फिजीमा १९७२ सम्म ५ हजार जति नेपाली भएको अनुमान गरिएको थियो। तर, हाल फिजीमा नेपाली मूलका गोरखाली १५ हजार छन् कि भन्ने अनुमान छ। त्यतिबेलाका सोझा र निरक्षर नेपालीलाई झुक्याएर गलत आश्वासनमा पार्दै त्यहाँ पुर्याइएको देखिन्छ। दुई–चार महिनामै आउन पाउँछौं भन्दै लगिएका तिनीहरू कहिल्यै नेपाल फर्कन पाएनछन्। तिनीहरूलाई पहिला सिङाटोका भन्ने गाउँमा राखिएछ र हाल फिजीमा नेपालीको पाँचौं पुस्ता छ।
फिजीमा रहेका नेपाली भेलापछि सामूहिक तस्बिर खिचाउँदै।
अहिलेको पुस्ता आफ्ना पूर्वजलाई घोडाको चाबुकले हानेर काम लगाएको सम्झेर दुःख मान्दा रहेछन्। उनीहरूले कहालीलाग्दा थुप्रै घटना सुनेका रहेछन्। उनीहरू नेपाली परिकार पकाएर खाने, टोपी लगाउने, दसैं–तिहार मनाउने गर्दा रहेछन्। तर भाषा हिन्दी र अंग्रेजी बोल्दा रहेछन्, नेपाली भाषा बोल्न सक्दैनन्। फिजीका तेस्रो पुस्ताका नेपाली फिजियन प्रवीणदेव घर्ती आफ्नो नाम केवल प्रवीणदेव मात्र लेख्छन्। उनका अनुसार अब थर नै छैन जस्तो छ। सबै भारतीय फिजियनसँग विवाहवारी भए। मिसिएपछि भारतीय जस्तै थरबिनाको नाम रहन गयो। उनले दुःखेसो सुनाए, ‘पर दादाहरूले मजदुरी गर्ने र मदिरा सेवन गरी बस्ने तर भाषा संस्कृति जगेर्ना नगरदिँदा सबै बिलाए।’
राजधानी सुवाबाट १९० किलोमिटर टाढा सिगांटोका सहरमा सबैभन्दा बढी फिजीमा नेपाली छन्। उनीहरूले नेपालको माटो र मन्दिर सम्झेर गाउँको नाम हेलम्बु राखेका छन् भने पशुपतिनाथ मन्दिर निर्माण गरेका छन्। प्रवीण भन्छन्, दसैं तिहार मनाउँछौ। रामायण, गीता पढ्छौं तर सबै हिन्दीमा। उनले आफ्नो पुर्खा १४० वर्षअघि काठमाडौं नजिकबाट आएको कालु घर्ती हुन् भनेर बताउँछन्। नेपाली कम हुँदा विवाह तामिल जातसँग भयो र भाषा हिन्दी हुन पुगेको उनको गुनासो छ। उनले भने, ‘नेपालमा भूकम्प र बाढीपहिरोको खबर सुनेर हामी दुःखी भयौं।’ आँखा र मूल, कुल, खुन खानदान त एउटै हो। नेपाल र फिजीको १९८० मा दौत्य सम्बन्ध भए पनि नेपालले १४२ वर्षको इतिहास बोकेका नेपालीका लागि न नेपालले न फिजी सरकारले भाषा र संस्कृति उत्थानबारे कुनै कार्यक्रम बनाएको देखिँदैन। नेपालले त वास्तै गरेको रहेनछ।
फिजीको सिगांटोकास्थित हेलम्बुमा नेपालीले बनाएका मठमन्दिरहरू।
फिजी सरकारले नेपालीलाई भारतीयको दर्जामा राखेको हुनाले पनि उनीहरूबाट नेपालीपन हराउँदै गएको रहेछ। नेपालीहरू भारतीय कामदारसँग मिसिएर जाँदा महिला कम र पुरुष बढी रहेछन्। त्यसैले उनीहरूमध्ये धेरैले भारतीय महिलासँग घरजम गरेछन्। त्यसरी सन्तानलाई हिन्दी बोल्नुपर्ने बाध्यता भएछ। कामदारहरूको शिविरमा महिला कम भएकाले ब्रिटिस एजेन्टले एक महिला बराबर तीन पुरुष राखिदिएछन्। ती महिलाले यो सन्तान यो पुरुषको हो भनेर चिनाउनु पर्दोरहेछ। त्यसैले पनि नेपालीको थर र भाषा छिन्नभिन्न भएछ। थर र भाषा नरहेपछि जातीय पहिचान हराउँदै जाने भएकाले अबको २–३ पुस्तापछि फिजीमा नेपालीको परिचय हराउन सक्छ। उनीहरूले १४२ वर्षदेखि जोगाएर हुर्काएको पहिचान विस्तारका लागि संसारभरका नेपालीसँग याचना गरेका छन्। उनीहरूको भनाइ रहेछ, ‘हामी नेपाली जहाँ जसरी रहे पनि नेपाली नै हौं। हामी आफ्नोपनको खोजी गर्दैछौं, नेपालीपनमा गौरव गर्छौं, हामीलाई नेपाली बनेरै बाँच्न र मर्न मन छ। त्यसैले संसारभरिका नेपालीले माया र सहयोग गरुन्। यो हाम्रो चाहना हो।’
सिगांटोका गाउँमै सन् १९३२ मा फिजी पुगेका नेपाली बुढापाकाले सनातन धर्म पाठशाला खोलेका थिए। हाल पाठशालामा कक्षा १ देखि ८ सम्म पढाइ हुन्छ तर भाषा भने फिजियन र हिन्दी रहेको प्रवीण घर्ती बताउँछन्। नेपाली भाषा भुलेका र भारतीयसँग बिहेबारी चलेका कारण भाषासँगै संस्कृतिसमेत गुम्न पुगेको घर्तीले गुनासो सुनाए। तापनि पुर्खाले पाठशाला खोलिदिएका कारण शिक्षाको प्रकाश पुगेकोमा उनी पुर्खाप्रति खुसी नै छन्। सनातन धर्म पाठशालाले केही हदसम्म हिन्दी भाषामा भए पनि हिन्दू सनातन संस्कृति पढाएका कारण दसैं दीपावली लगायतका चाडपर्व मनाएकामा पुर्खाप्रति खुसी नै छन् उनीहरू। त्यति नभए भाषासँगै नेपाली चाडपर्वसमेत हराउने थियो फिजिमा नेपालीहरू भन्ने गर्छन्।
मानिस धन–सम्पत्ति भएर पनि दुःखी छ भने त्यो फिजीका नेपाली हुन्। आफ्ना पुर्खाको देशमा रहेका पशुपति, स्वयम्भू र लुम्बिनीको ज्योतिस्पर्शको अनुभव गर्दै बूढापाका प्राण त्याग गर्न चाहन्छन्। यो सन्ताप नेपालसँग भएको बिछोडको प्रताडना र चौथो पिँढीसम्म थोपरिएको ‘मालिक–राष्ट्र’को मानसिक यातना भोगेकाले मात्र अनुभव गर्न सक्छ। तर बताउन खोज्दा पीडाबोधमा बगेको आँसुको भेलले शब्दहरू मुखबाट निस्कन नपाउँदै बगाएर लैजान्छ। फिजी सरकारले काठमाडौंमा वाणिज्य दूतावास खोलेको छ। तर, सांस्कृतिक सम्बन्धबारे कुनै कार्यक्रम छैन। तर यी दुई देशका नेपालीको मिलन गराउन फिजीका नेपालीलाई निम्तो दिने र घरसम्म डोर्याएर ल्याउने कुनै शुभकर्म भएको सुनिएको छैन। त्यो राज्य स्तरबाट भए धेरै राम्रो।
फिजीका नेपालीले पुख्र्यौली मातृभूमिको तीर्थाटनबाट एक मुठी आफ्ना पुर्खाको अस्तु मिश्रित माटो लिएर फिजी फर्किन्थे र त्यसैको पूजा गरेर आफ्नो सुखद् सपना साकार पार्थे। त्यो संकल्प हामी सबै नेपाली मिल्ने हो भने गैरसरकारी तहबाट पनि गर्न सकिन्छ, आँट गरौं। नेपालले फिजी नेपाली मूलका परिवारको पुनर्मिलन र पुर्खाको माटोसँग भेट गराउने सवालमा नेपाल सरकारले अब चासो देखाउनुपर्छ। त्यसमा फिजीको सरकारलाई पनि ध्यान आकृष्ट गराउन सम्बन्धित निकायले सक्नैपर्छ। त्यो परोपकारको काम हो र राज्यले केही लगानी पनि गर्नुपर्ला। तर, त्यसले खेल्ने दीर्घकालिक सम्बन्ध दुई देशभित्र मात्र सीमित रहने छैन। सम्बन्ध दुई परिवारसम्म पनि त्यो सम्बन्ध बिस्तार हुनेछ। फिजीमा स्थायी बसोबास गरिरहेका नेपालीहरूको मनभित्रको कुरा गर्ने हो भने वाक्य शब्दमा खुम्चेको छ, भाषिक पहिचान अनपढ पहिलो पुस्ताले कति आफ्ना सन्ततिहरूलाई हस्तान्तरण गर्न सक्यो ? त्यसपछिका पुस्ताहरूले नेपाली भाषाको लिपी र बोली हस्तान्तरण गर्न सके कि सकेनन् ? त्यसको खोजी होला।
त्यो कुरा उनीहरूको यो भनाइबाट नै प्रष्ट हुन्छ– ‘हामीबाट नेपाली भाषा गुम्यो, बोल्न सक्दैनौं, तर मन र मुटुमा हामी पुस्तौंदेखि नेपालीपन जोगएर राखेका छौं। पुर्खाहरूलाई कसरी घोडाको चाबुकले हानेर दोषीसरह काम लागाइयो… अग्रेजहरूले भनेको त्यो परिवेश सम्झँदा अहिले पनि हाम्रो मन प्रताडित हुन्छ। पुर्खा अनपढ थिए, नेपाली लिपि जोगाउन सक्ने कुनै आधार थिएन। भारतीयहरूको अलगअलग समूहमा नेपालीहरू मिसाएर काम गराउने बेलायती मालिकहरूलाई नेपाली पहिचानको के मतलव भयो र। त्यसैले त्यहाँ नेपाली भाषा सकिनु वा पुस्ता हस्तान्तरण नहुनुमा नेपालीहरूको केही दोष छैन।
उक्त समयमा नेपालबाट भारतमा काम गर्न गएका नेपालीहरूलाई फकाएर र धम्क्याएर फिजी लगिएको थियो। केही समयका लागि भनेर लगिएका उनीहरू आफन्तसँग बिछोडको आँसु पिएर शताब्दीऔं फिजीको वन फाँडेर उखु खेती गर्दै बसेका नेपालीको आफ्नै पीडा छ आफ्नै कथा र व्यथा छ। उनीहरू त्यो बेला कति रोए कति पटक मुलुक र आफन्त सम्झे, कसैले देखेन। उनीहरूलाई बेलायती मालिकहरूले दिएको यातना र अपमानको कुरा कति भयानक छ सुन्दा मात्र पनि मनमुटु काप्छ। बेलायतीले दिएका झुटा आश्वासन सम्झेर सबै नेपालीलाई उनीहरूप्रति असीमित घृणा उम्लेर आउनु स्वाभाविक हो।
पूर्वको नीलमणि ‘फिजी’ संसारभरका पर्यटकहरूले घुम्न रुचाएको अत्यन्त सुन्दर देश हो। यहाँ ज्वालामुखीबाट बनेका ३२२ वटा अत्यन्त सुन्दर टापुहरू छन्। फिजीलाई सन् १८७४ देखि बेलायतले आफ्नो कब्जामा लिएर उखु खेतीमा लगाउँथ्यो र त्यहाँ उत्पादन हुने चिनी र भेली बेलायतलगायतका देशमा लगेर लगिन्थ्यो। उक्त समयमा नेपालबाट भारतमा काम गर्न गएका नेपालीहरूलाई फकाएर र धम्क्याएर फिजी लगिएको थियो।
यस्तो कठोर अवस्थाको बीचमा पनि फिजी–नेपाली प्रवीणदेव घर्तीका पुर्खाहरूले नेपालीपन जोगाएर तीन–चार पुस्तासम्म लगातार हस्तान्तरण गरे। देश स्वतन्त्र भएपछिको अवस्थाले उनीहरूलाई धेरै राहत दिएको बताउँछन्।
फिजीको सबैभन्दा ठूलो टापु मेनल्यान्ड, ‘भिटी लेभु’ र ‘भाउनु वा लेभु’ अन्तर्गतका सिंग्गा टोका र लम्बासामा प्रशस्तै नेपालीको बसोबास भेटिन्छ। राई, घर्ती, मगर, थापा, न्यौपाने, पराजुली, तामाङ, गुरुङलगायतका नेपाली बसोबास गर्ने त्यहाँ नेपालीको दुई पुस्ता बेलायतीहरूको दासतामै बित्यो। न उनीहरूले पढ्न पाए न आफ्नो पहिचानको बारेमा खोजीनीति गर्न नै पाए। बेलायती मालिकहरूले फुकेको सिट्ठीको भरमा काम गर्ने र हिन्दी, अंग्रेजी बोल्नुपर्ने बाध्यकारी कानुनको कारण आफ्नो भाषा बिर्सिए। तर नेपाली खानाको स्वाद भने उनीहरूको जिब्रोले कहिल्यै बिर्सेन। अझै पनि उनीहरूको चुलामा नेपाली परिकार पाक्छ, नेपाली भेषभूषा लगाउँछन्। चाडपर्वको रूपमा दसैं–तिहार मनाउँछन्। उनीहरूसँग सबै छ तर भाषा छैन। भाषाबिना पनि नेपाली पहिचान, नेपालप्रतिको अगाध माया, नेपालीप्रतिको असीम भातृत्व संसारमा कहीँ छ भने त्यो फिजीमा छ।
हराएका नेपाली खोज्ने राज्यको दायित्व हो। हराएका आफ्ना बान्धव वा परिवार खोज्ने नेपालीको परम्परागत संस्कार पनि हो। सय वर्ष हराएका बन्धुहरू खोज्ने र एक सय वर्षमा पनि घर नआए अन्तिम संस्कार गर्ने हाम्रो परम्परा छ। त्यसरी हराएर अन्तिम संस्कार गरिसकेका ती नेपालीहरू कतै हाम्रै आफन्त त हैनन् ? ढिलै भए पनि खोज्नु जरुरी छ। ती हाम्रै हराएका पुर्खाका सन्तान हुन सक्छन्, ती अहिले देश हाँकिरहेका देशकै नेतृत्वका आफन्त पनि हुन सक्छन्। वा, उपल्लो तहमा सेवारत कुनै पनि नेपालीका आफन्त हुन पनि सक्छन्। हामीले बेलायतीबाट अपहरित ती हाम्रा पुर्खाका सन्तानहरूलाई सम्मानसाथ भेटेर अँगालौं। युगले बिर्संदै गएका फिजीका एक नेपाली विजेन्द्र सिंहको यो गुनासो ‘न फिजी सरकारले साथ थियो न त नेपालले नै हामीलाई खोज्यो’ लाई सम्बोधन गर्नु एक परोपकारी कर्म हुनेछ।
‘भाषा मेटिएपछि आफ्नो राष्ट्रिय स्वाभिमानबारे बुझ्ने माध्यम सकिन्छ। नयाँ पुस्ता आफ्नो पहिचानमा पुरानो पुस्ता जति संवेदनशील छैन। पहिचान सम्पूर्ण रूपले सकिने हो कि भन्ने चिन्ताले त्यहाँका नेपालीको रहेको छ। फिजीका नेपालीहरूले १ सय ३६ वर्षदेखि जोगाएर हुर्काएको आफ्नो पहिचान विस्तार र समृद्धिका लागि संसारभरका नेपालीसँग याचना गरेका छन्। उनीहरूले भन्ने गरेका छन्– ‘नेपाली जहाँ जसरी रहेका छौँ, नेपालीकै जस्तो भावना बोकेर रहेका छौँ। पुस्तौँ पुस्तासम्म आफ्नोपनको निमित्त तड्पियौँ, अझैसम्म नेपालीपनमा गौरव गर्दै आएका छौँ, हामीलाई नेपाली बनेरै बाँच्न र मर्न मन छ। संसारभरका नेपालीहरूले यस विषयमा संवेदनशील भइदिनुहोस् र कमसेकम पुनर्मिलनको वातावरण बनाइदिनुहोस् भन्ने भावना सञ्चारकर्मी डिल्लीराम अम्माईसँग गरेको अम्माईले बताए।
उनीहरू दुःखका दिनहरू पनि सम्झिन्छन् र ठूलाठूला दुर्घटना सम्झेर भक्कानिन्छन्। त्यस्तै एक पुरानो दुःखदायी सम्झना छ उनीहरूको बीचमा। सन् १९८४ मे १७ मा भारतबाट अधिकतम नेपाली र भारतीय ‘गिर्मिटिया’ कामदार लिएर गएको पानीजहाज फिजीको एक टापु नजिकै ‘नेसलाई रिफ’मा ठोक्किएर ४९७ जना यात्रुसहित समुद्रमा डुबेको सम्झनाले उनीहरू अझै धमिलिन्छन्। त्यो जहाज दुर्घटना सम्झेर फिजीका नेपालीहरूले पूर्वको ‘टाइटनिक दुर्घटना’को उपमा दिन्छन्। अब नेपाल सरकार, गैरआवासीय नेपाली संघलगायतले पहल गरेर उनीहरूलाई मातृभाषा संस्कृति र परम्पराबारे शिक्षा, चेतना आदिबारे जानकारी दिन सके एउटा माटो र भाषा बिर्सिएर मुग्लान बसेका गोर्खालीहरूको आशीर्वाद र कल्याण दुवै पाउने अपेक्षा गर्न सकिन्छ।
यो आलेख पन्तले दिल्लीराम अम्माई, आचार्य राजन शर्मा आदि र केही फिजियन नेपालीसँग कुराकानीमा आधारित रहेर तयार पारेको हो ।


