काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट ५० भन्दा बढी नागरिकको मृत्यु भएको बताएका छन्। बाढीबाट ठूलो मानवीय तथा भौतिक क्षति भएको भन्दै उनले प्रभावितको उद्धार, उपचार र राहतलाई सरकारले उच्च प्राथमिकतामा राखेको जानकारी दिएका छन्।
प्रधानमन्त्री शाहले बाढीमा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन्। उनले घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै बेपत्ता नागरिकको खोजी कार्य तीव्र पारिएको बताएका छन्।
बाढी आएलगत्तै नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीसहितका सुरक्षा निकायका हजारौँ जनशक्ति उद्धार तथा खोजीमा परिचालन गरिएको उनले बताए। सुरक्षाकर्मीले हेलिकप्टरमार्फत हालसम्म २५० भन्दा बढी नागरिकको उद्धार गरिसकेको र घाइतेलाई तत्काल काठमाडौं ल्याएर उपचार भइरहेको उनको भनाइ छ।
घाइतेको निःशुल्क उपचारका लागि काठमाडौंका वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा १०० शय्या छुट्याइएको तथा उपत्यकाका अन्य ठूला अस्पताललाई समेत उपचारका लागि तयारी अवस्थामा राखिएको प्रधानमन्त्री शाहले जानकारी दिए। प्रभावित क्षेत्रमा चिकित्सक, स्वास्थ्यकर्मी, उद्धारकर्मी र आवश्यक स्वास्थ्य सामग्री पठाइएको उनले बताएका छन्।
आपत्कालीन स्वास्थ्य सेवा, औषधि तथा रगतको अभाव हुन नदिन रक्तसञ्चार केन्द्र, बागमती र गण्डकी प्रदेशका स्वास्थ्य मन्त्रालय, नेपाल रेडक्रस, लायन्स क्लब र नेपाल स्काउटलगायत संस्थासँग समन्वय भइरहेको उनले बताए।
बाढीबाट नुवाकोटको विदुर, रसुवाको उत्तरगया र गोसाइँकुण्ड, धादिङको गजुरी, गल्छी, बेनीघाट, त्रिपुरासुन्दरी र सिद्धलेक तथा गोरखाको शहीद लखन र गण्डकी गाउँपालिका बढी प्रभावित भएका छन्। ती क्षेत्रमा प्रभावित परिवारका लागि खाद्यान्न, सुरक्षित खानेपानी, औषधि र अस्थायी बसोबासको व्यवस्था तत्काल मिलाइने प्रधानमन्त्री शाहले बताएका छन्।
बाढीबाट क्षतिग्रस्त सडक, पुल, विद्युत् तथा खानेपानीका संरचनाको पुनर्निर्माणलाई प्राथमिकतामा राखिने र विस्थापित परिवारलाई सुरक्षित स्थानमा पुनःस्थापना गरिने उनले बताए।
प्रधानमन्त्री शाहका अनुसार रातभर पनि उद्धार तथा खोजी कार्य जारी रहनेछ। बेपत्ता नागरिकको खोजी, घाइतेको विवरण संकलन तथा क्षतिको विस्तृत विवरण तयार गर्ने कामसमेत निरन्तर अघि बढाइनेछ।
उनले बाढी प्रभावित नागरिकलाई धैर्य धारण गर्न आग्रह गर्दै सरकार सम्पूर्ण साधन र स्रोतसहित उनीहरूको साथमा रहेको बताए। प्रभावितको उद्धार, उपचार, खानपिन र बसोबासको व्यवस्थाको जिम्मेवारी सरकारले लिने उनको भनाइ छ।
प्रधानमन्त्री शाहले विपद्को समयमा सामाजिक संघसंस्था, उद्योगी–व्यवसायी, युवा स्वयंसेवक तथा आम नागरिकलाई सरकारको उद्धार तथा राहत अभियानमा सहयोग गर्नसमेत आग्रह गरेका छन्।


