Saturday, August 29, 2026
Homeअर्थ र ब्यापारप्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टामै १ अर्ब ९१ करोडभन्दा बढी...

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टामै १ अर्ब ९१ करोडभन्दा बढी सहयोग

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टाको अवधिमा १ अर्ब ९१ करोड रुपैयाँभन्दा बढी सहयोग रकम संकलन भएको छ। अर्थ मन्त्रालयका अनुसार बुधबार मध्याह्नदेखि बिहीबार राति १२ बजेसम्म विभिन्न १० वाणिज्य बैंकमा रहेका कोषका खातामा दाताहरूले १ अर्ब ९१ करोड ८६ लाख ५० हजार ९११ रुपैयाँ जम्मा गरेका हुन्।

बुधबार बिहान नेपाल–चीन सीमा हुँदै बग्ने भोटेकोशी नदीमा आएको भीषण बाढीबाट ठूलो धनजनको क्षति भएपछि सरकारले मन्त्रिपरिषद्को बैठकमार्फत प्रभावित क्षेत्रलाई संकटग्रस्त क्षेत्र घोषणा गरेको थियो। त्यसपछि प्रभावितको उद्धार तथा राहतका लागि कोषमा व्यक्ति तथा विभिन्न संस्थाबाट सहयोग जुट्न थालेको हो।

सरकारले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम संकलन तथा समन्वयका लागि अर्थ मन्त्रालयलाई फोकल मन्त्रालय तोकेको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संस्थागततर्फ १ करोड रुपैयाँ वा सोभन्दा बढी सहयोग गर्ने दाताबाट प्राप्त रकम आफैँमार्फत स्वीकार गरिरहेका छन्।

व्यक्तिगततर्फको नगद सहयोग भने दाताहरूले अर्थ मन्त्रालयमै पुगेर प्रदान गर्न सक्ने व्यवस्था गरिएको छ।

नयाँ सहयोग रकम थपिएसँगै कोषमा रहेको बचत रकम ४ अर्ब ९ करोड ११ लाख ६० हजार रुपैयाँ पुगेको छ। यसअघि कोषमा २ अर्ब १७ करोड २५ लाख ९ हजार ७५९ रुपैयाँ बचत रहेको थियो।

यसअघि बिहीबार ६ घण्टाको अवधिमा मात्रै नेपालका निजी क्षेत्रका दाताबाट अर्थ मन्त्रालयमार्फत २७ करोड ३३ लाख रुपैयाँ सहयोग प्राप्त भएको थियो।

अर्थ मन्त्रालयका अनुसार हालसम्म संकलित उक्त रकममा विभिन्न मित्रराष्ट्रले घोषणा गरेका सहयोग भने समावेश गरिएको छैन।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका