काठमाडौं : नेकपा माओवादी केन्द्रले प्रधानमन्त्रीमा देउवालाई विश्वासको मत दिने निर्णय गरेको छ। आइतबार सिंहदरबारमा बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकले यस्तो निर्णय गरेको हो।
प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिनेबारे छलफल गर्न बिहान ११ बजे बैठक बोलाइएको थियो। प्रधानमन्त्री देउवाले आज अपरान्ह ४ बजे विश्वासको मत लिदैछन्।
बैठकमा माओवादी केन्द्रबाट प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने सबै सांसद् सहभागी थिए। सर्वोच्च अदालतले प्रधानमन्त्रीमा नियुक्तको परामादेश जारी गरेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले २९ असारमा देउवालाई नियुक्त गरेकी हुन्।
प्रधानमन्त्रीमा नियुक्त भएका नेपाली कांग्रेसका सभापति देउवाले संवैधानिक प्रावधानअनुसार विश्वासको मत लिन लागेका हुन्। प्रतिनिधिसभाको पहिलो बैठकले शोक प्रस्ताव पारित गरेपछि दोस्रो बैठकमा विश्वासको मत लिनेछन्।


