काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीले १८औँ गणतन्त्र दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई शुभकामना व्यक्त गरेका छन्।
फेसबुकमार्फत शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले लेखेका छन्, “शाही दमन चिरेर जनताले इतिहास लेखेको दिन हो आज। मुकुटको होइन—मुलुकको हितले स्थान पाएको दिन, सिंहासनको अभिमान तोडेर नागरिकको स्वाभिमान स्थापित भएको दिन, जनताको सात दशक लामो बलिदानीपूर्ण संघर्षले विजय प्राप्त गरेर गणतन्त्र आर्जन गरेको दिन।”
प्रधानमन्त्री ओलीले गणतन्त्र दिवसको गरिमामय अवसरमा सम्पूर्ण नेपालीहरूलाई ‘जय–जय–जय नेपाल’ भन्दै हार्दिक शुभकामना दिएका छन्।
गणतन्त्र स्थापना भएको सम्झनामा आज देशभर विविध कार्यक्रमहरू आयोजना गरी १८औँ गणतन्त्र दिवस मनाइँदैछ।


