काठमाडौँ । सर्वोच्च अदालत मा आज बिहान फुलकोर्ट बैठक बसेको छ। संवैधानिक परिषद्ले सर्वोच्च अदालतको प्रधानन्यायाधीश पदका लागि चौथो बरियताक्रममा रहेका न्यायाधीश मनोजकुमार शर्मा को नाम सिफारिस गरेपछि बैठक बोलाइएको हो।
सर्वोच्च अदालतमा उपस्थित सबै न्यायाधीश सहभागी उक्त प्रशासनिक बैठकमा प्रधानन्यायाधीश सिफारिससम्बन्धी विषयमा न्यायाधीशहरूले आ–आफ्नो धारणा राखेका थिए।
स्रोतका अनुसार बैठकमा सहभागी अधिकांश न्यायाधीशले संवैधानिक परिषद्को निर्णयलाई अनपेक्षित भन्दै यसले न्यायालयमा राम्रो सन्देश नदिएको धारणा व्यक्त गरेका थिए।
यद्यपि, केही न्यायाधीशले भने सिफारिसको विषयलाई लिएर धेरै विवाद गर्न नहुने मत राखेका थिए। बैठकमा सहभागी दुई न्यायाधीशले तत्काल निष्कर्षमा पुग्न नहुने धारणा व्यक्त गरेको स्रोतले जनाएको छ।
फुलकोर्ट बैठकका कारण आज मुद्दाको पेसी सूची तोक्न करिब साढे दुई घण्टा ढिलाइ भएको थियो। प्रधानन्यायाधीशमा सिफारिस भएका डा. शर्मा अदालतमा उपस्थित भए पनि उनी आज इजलासमा बसेनन्।


