काठमाडौं । हर्क साम्पाङ ले प्रधानन्यायाधीश सिफारिस प्रक्रियाप्रति असन्तुष्टि जनाउँदै उपसभामुख रुबीकुमारी ठाकुर ले उक्त निर्णयमा हस्ताक्षर गरेको विषयप्रति आपत्ति जनाएका छन्।
श्रम संस्कृति पार्टीका अध्यक्षसमेत रहेका साम्पाङले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै संवैधानिक परिषद्बाट वरीयता मिचेर गरिएको निर्णयमा आफ्नै पार्टीबाट निर्वाचित उपसभामुख सहभागी हुनु खेदजनक भएको बताएका हुन्।
उनले विधिको शासन र वरीयताको क्रमलाई उल्लङ्घन गर्दै गरिएको निर्णयले लोकतान्त्रिक मूल्य र मान्यतामाथि प्रहार गरेको उल्लेख गरेका छन्।
साम्पाङले संसद्लाई छलेर तथा राष्ट्र प्रमुखमाथि दबाब सिर्जना गरेर संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरिएको दाबी गर्दै त्यसलाई गलत कदमको संज्ञा दिएका छन्।
विज्ञप्तिमा उनले प्रधानन्यायाधीश नियुक्तिसम्बन्धी बैठकमा एमसीसी र एसपीपीजस्ता विवादास्पद विषय उठाएर दबाब र प्रभाव सिर्जना गरिएको आरोपसमेत लगाएका छन्।
यस्तो संवेदनशील विषयमा पार्टीको नीति र विधिको मर्यादाविपरीत उपसभामुख ठाकुरले हस्ताक्षर गरेको भन्दै उनले पार्टीको आधिकारिक असहमति रहेको स्पष्ट पारेका छन्।
साम्पाङले संवैधानिक निकायमा हुने नियुक्ति प्रक्रिया पारदर्शी, निष्पक्ष र न्यायोचित हुनुपर्नेमा जोड दिएका छन्। अध्यादेशमार्फत प्रक्रिया अघि बढाइनुले सरकारको नियतमाथि प्रश्न उठाएको उनको भनाइ छ।
आफ्नै पार्टीका प्रतिनिधिले सरकारको विवादास्पद निर्णयमा साथ दिएको भन्दै उनले सार्वजनिक रूपमा असन्तुष्टि जनाएपछि राजनीतिक वृत्तमा नयाँ बहस सुरु भएको छ। साथै, राष्ट्रिय सार्वभौमिकता र न्याय प्रणालीको निष्पक्षतामा आँच आउने कुनै पनि कार्य स्वीकार्य नहुने चेतावनीसमेत उनले दिएका छन्।



