काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दैछ । आजको बैठकमा पनि सरकारको नीति तथा कार्यक्रममाथिको छलफलले निरन्तरता पाउने भएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेल ले सोमबार संघीय संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । बुधबारको बैठक भने नियमित कार्यसूचीमा प्रवेश नगरी स्थगित भएको थियो ।
प्रधानमन्त्री बालेन शाह नीति तथा कार्यक्रममाथि छलफलका क्रममा सदनमा उपस्थित नभएपछि प्रतिपक्षी सांसदहरूले बैठक अवरुद्ध गरेका थिए ।
आजको सम्भावित कार्यसूचीअनुसार छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ प्रधानमन्त्रीले दिने उल्लेख गरिएको छ । तर, उनी आजको बैठकमा सहभागी हुने वा नहुनेबारे अझै स्पष्ट भएको छैन । बुधबार भने प्रधानमन्त्री अनुपस्थित भएपछि अर्थमन्त्रीमार्फत प्रक्रिया अघि बढाउने प्रयास गरिएको थियो, जसको प्रतिपक्षी दलहरूले विरोध गरेका थिए ।
आजकै बैठकमा सरकारको नीति तथा कार्यक्रमलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची पनि रहेको छ ।
त्यसैगरी, राष्ट्रियसभाको बैठक पनि बिहान ११ः१५ बजे बस्ने तय भएको छ । उक्त बैठकमा समेत सरकारको नीति तथा कार्यक्रममाथिको छलफल जारी रहने सम्भावित कार्यसूची रहेको छ ।


