पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले बुधबार साँझ पोखरामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै समर्थकहरूलाई मोबाइलको ‘फ्ल्यास लाइट’ बाल्न आग्रह गरेका छन् ।
उनको आग्रहपछि सभास्थलमा उपस्थित हजारौं समर्थकले एकसाथ मोबाइलको फ्ल्यास बालेर समर्थन जनाएका थिए । हजारौं मोबाइलको प्रकाश देखेर लामिछानेले उक्त दृश्यलाई परिवर्तनको सङ्केतका रूपमा व्याख्या गरे ।
उनले भने, “तपाईंहरूको हातमा बलेको यो बत्ती केवल प्रकाश मात्र होइन, यो ३४ वर्षदेखिको अँध्यारो र लुटतन्त्र अन्त्य गरी सुशासनको नयाँ युग सुरु गर्ने सङ्कल्प हो ।”
लामिछानेले विगत तीन दशकदेखि सत्तामा रहेका दलहरूले देशमा कुशासन फैलाएको आरोप लगाउँदै उद्योग–कलकारखाना बन्द गराइएको र युवाहरूलाई विदेश पलायन हुन बाध्य बनाइएको दाबी गरे । अब त्यस अवस्थाको अन्त्य गर्न फागुन २१ गते हुने निर्वाचन महत्वपूर्ण हुने उनले उल्लेख गरे ।
“जसरी हजारौं मोबाइलको प्रकाशले यहाँको रातको अँध्यारोलाई हटाएको छ, त्यसैगरी तपाईंहरूको अमूल्य मतले देशमा फैलिएको राजनीतिक बेथिति र भ्रष्टाचारको अँध्यारोलाई अन्त्य गर्नेछ,” उनले भने ।


