Wednesday, June 17, 2026
Homeसामाचारपोखरा र भैरहवा विमानस्थल सञ्चालन सरकारको उच्च प्राथमिकतामा, भारत–चीनसँग कूटनीतिक पहल जारी...

पोखरा र भैरहवा विमानस्थल सञ्चालन सरकारको उच्च प्राथमिकतामा, भारत–चीनसँग कूटनीतिक पहल जारी : अर्थमन्त्री वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल (भैरहवा) पूर्ण रूपमा सञ्चालनमा ल्याउन सरकारले उच्च प्राथमिकताका साथ काम गरिरहेको बताएका छन्।

नेपाल चेम्बर अफ कमर्सले बुधबार आयोजना गरेको बजेटसम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले दुवै विमानस्थलको प्रभावकारी सञ्चालनका लागि भारत र चीनसँग कूटनीतिक पहल भइरहेको जानकारी दिए।

उनका अनुसार परराष्ट्रमन्त्रीको हालैको भारत तथा चीन भ्रमणका क्रममा विमानस्थल सञ्चालन, हवाई मार्ग विस्तार, अन्तर्राष्ट्रिय कनेक्टिभिटी र विमानस्थल व्यवस्थापनका विषयलाई प्रमुख एजेन्डाका रूपमा उठाइएको छ। विमानस्थल निर्माणका लागि लिइएको ऋणको दायित्व सरकारमाथि रहेकाले ती पूर्वाधारलाई शीघ्र सञ्चालनमा ल्याउन सरकार गम्भीर रहेको उनले बताए।

अर्थमन्त्री वाग्लेले जलस्रोत, हवाई उड्डयन, सडक पूर्वाधारलगायतका क्षेत्रमा आर्थिक कूटनीतिलाई सक्रिय बनाइएको उल्लेख गर्दै विगतमा उठाउन नसकिएका विषयमा समेत सरकार संवाद र वार्तामार्फत समाधान खोज्न लागेको बताए।

कार्यक्रममा उनले निजी क्षेत्रका जायज माग र सुझावप्रति सरकार सकारात्मक रहेको स्पष्ट पारे। उद्योग प्रवर्द्धनका लागि कच्चा पदार्थ तथा मध्यवर्ती वस्तुको भन्सार दर अन्तिम उत्पादनको तुलनामा कम राख्ने नीति अवलम्बन गरिएको उल्लेख गर्दै तथ्य र प्रमाणका आधारमा आएका सुझावलाई सरकारले आवश्यकताअनुसार सम्बोधन गर्ने प्रतिबद्धता जनाए।

त्यस्तै, रियल स्टेट क्षेत्रको सुस्तताले अर्थतन्त्रमा असर परेको स्वीकार गर्दै उनले यस क्षेत्रलाई क्रमिक रूपमा चलायमान बनाउने सरकारको योजना रहेको बताए। आवश्यक परे आगामी मौद्रिक नीतिमार्फत पनि रियल स्टेट क्षेत्रलाई राहत दिने विषयमा नेपाल राष्ट्र बैंकसँग समन्वय गरिने उनको भनाइ थियो।

अर्थमन्त्री वाग्लेले गैरआवासीय नेपाली (एनआरएन) सम्बन्धी नीति तथा एनआरएन बन्डलाई पनि सरकारले प्राथमिकतामा राखेको जानकारी दिए। सरकार र निजी क्षेत्रबीच विश्वासको वातावरण निर्माण गरेर मात्र अर्थतन्त्रलाई गति दिन सकिने उल्लेख गर्दै उनले उद्योगी–व्यवसायीलाई राष्ट्रिय हितलाई केन्द्रमा राखेर नीतिगत सुझाव दिन आग्रह गरे।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका