पोखरा: पोखरा महानगरपालिकाले बालबालिकाको स्वास्थ्य सुरक्षामा महत्वपूर्ण योगदान पुर्याउने उद्देश्यसहित “पूर्ण खोप सुनिश्चितता दिगोपना” घोषणा गरेको छ। नगर प्रमुख धनराज आचार्यले एक औपचारिक समारोहमा उक्त घोषणा गर्नुभएको हो।
नेपाल सरकारको प्राथमिकता प्राप्त राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत महानगरभित्रका सबै बालबालिकाले समयमै आवश्यक खोप प्राप्त गरेको सुनिश्चित गर्ने लक्ष्य यो घोषणाको आधार हो। नगर प्रमुख आचार्यले बालबालिकाको सुरक्षित भविष्यका लागि खोप र अन्य स्वास्थ्य सेवा प्रभावकारी रूपमा उपलब्ध गराउनु महानगरपालिकाको प्रमुख दायित्व भएको स्पष्ट पार्नुभयो। साथै, स्वास्थ्यकर्मीहरूलाई खोप र पोषण कार्यक्रमहरू थप प्रभावकारी रूपमा सञ्चालन गर्न निर्देशन दिनुभयो।
महानगरपालिकाकी कार्यवाहक प्रमुख मन्जुदेवी गुरुङले बालबालिकाका लागि खोप अत्यावश्यक र प्रभावकारी कार्यक्रम भएकाले यसलाई सम्पूर्ण वडामा विस्तार गर्न महानगरपालिका प्रतिबद्ध रहेको बताउनुभयो।
स्वास्थ्य महाशाखा प्रमुख भरतराज पौडेलले विगत एक वर्षमा ०–१५ महिनाका ५ हजार ३४१ र १६–२३ महिनाका ४ हजार १५० बालबालिकाको घरघरमा खोप अवस्थाको अध्ययन गरिएको जानकारी दिनुभयो। अध्ययन क्रममा जन्मदेखि खोप नपाएका एक बालकलाई खोपको पहुँचमा ल्याइएको र ४१ जना अपूर्ण खोपप्राप्त बालबालिकालाई पूर्ण खोप दिइएको उल्लेख गर्नुभयो।
वडा नं. १२ का अध्यक्ष सन्तोष बास्तोलाले बालबालिकालाई आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउन सबै वडा कार्यालय प्रतिबद्ध रहेको जानकारी दिनुभयो। महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका सञ्जाल कास्कीकी अध्यक्ष भीमा पौडेलले खोप अभियानमा महिला स्वयंसेविकाको सक्रियता र योगदान उल्लेखनीय रहेको बताए।
जनस्वास्थ्य अधिकृत तेजाखर लम्सालका अनुसार नगर क्षेत्रका खोप योग्य सबै बालबालिकालाई खोप लगाइएको सुनिश्चित भएपछि यो घोषणा गरिएको हो। कार्यक्रममा सहभागी विश्व स्वास्थ्य सङ्गठनका प्रतिनिधिहरूले पोखराको बालस्वास्थ्य प्रवर्द्धनमा उल्लेखनीय प्रगति भएको प्रशंसा गरेका छन्।
पूर्ण खोप भन्नाले राष्ट्रिय खोप तालिकाअनुसार १५ महिना उमेर भित्र दिइने सबै खोपहरू प्राप्त गरेका बालबालिकालाई जनाइन्छ। पूर्ण खोप सुनिश्चितता घोषणाका लागि १६ देखि ५९ महिना उमेर समूहका बालबालिकामा खोप अवस्थाको मूल्याङ्कन गरिन्छ।


