Wednesday, July 1, 2026
Homeसामाचारपृथ्वीनारायण शाहले नेपाललाई व्यवहारमै राष्ट्र–राज्य बनाए: डा. लोहनी

पृथ्वीनारायण शाहले नेपाललाई व्यवहारमै राष्ट्र–राज्य बनाए: डा. लोहनी

काठमाडौं: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वअध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले पृथ्वीनारायण शाहलाई व्यवहार र अभ्यासमार्फत नेपाललाई राष्ट्र–राज्यको रूपमा विकसित गर्ने व्यक्तित्वको रूपमा वर्णन गर्नुभएको छ।

शुक्रबार काठमाडौंमा आयोजित ‘पृथ्वीपथ’ विषयक विचार गोष्ठीमा बोल्दै डा. लोहनीले भन्नुभयो, “त्यो समयसम्म राष्ट्र–राज्यको सिद्धान्त प्रतिपादन नै भइसकेको थिएन, तर पृथ्वीनारायण शाहले सामूहिक राष्ट्रिय भावना जनस्तरसम्म पुर्‍याए। सबै जातजाति, धर्म, संस्कृति र सम्प्रदायलाई ‘यो मेरो देश हो’ भन्ने अनुभूति गराउन सफल भए।”

उहाँका अनुसार पृथ्वीनारायण शाहले जनताको इच्छाअनुसार शासन गर्ने परम्परा बसाल्नुभयो। “कालु पाँडेलाई काजी नियुक्त गर्न उहाँको व्यक्तिगत चाहना थिएन, तर जनमतको आधारमा त्यो निर्णय लिनुभयो,” लोहनीले उदाहरण दिँदै भन्नुभयो, “यसबाट शासन प्रणालीमा जनसहभागिता र सर्वोच्चताको अभ्यास देखिन्छ।”

राप्रपाका प्रवक्ता सगुन सुन्दर लावतीले पृथ्वीनारायण शाहले ‘राष्ट्र केवल भूगोल होइन, धर्म, संस्कृति, भाषा र जातीयताको समिश्रण हो’ भन्ने अवधारणाको विकास गरेको बताउनुभयो। “उहाँको नेतृत्वमा बनेको नेपाल कहिल्यै विखण्डनको चपेटामा परेन,” उहाँले स्पष्ट पार्नुभयो, “नेपाल युद्ध र कूटनीतिक संयोजनमा अडिएको समाज बनेको हो।”

पूर्वमन्त्री दीपक ज्ञवालीले पृथ्वीनारायण शाहले देशलाई एकढिक्का बनाएर कहिल्यै टुक्र्याउन नखोजेको बताउनुभयो। “मल्ल राजाहरूले जस्तो विभाजन नगरी, नेपालको एकताको सुनिश्चितता गर्न उहाँ सफल हुनुभयो,” ज्ञवालीले टिप्पणी गर्नुभयो।

इतिहासविद् डा. सुरेन्द्र केसीले भने पृथ्वीनारायण शाहको शासन अहिलेको तुलनामा व्यवहारिक र प्रभावकारी रहेको उल्लेख गर्नुभयो। “आज राजनीतिक पहुँचका आधारमा मन्त्री बनाइन्छ, अनुभव र योग्यता हेरेर होइन,” उहाँले भन्नुभयो, “यही प्रवृत्तिले आजको युवापुस्तालाई विदेशिन बाध्य बनाएको छ।”

कार्यक्रम राष्ट्रवादी मातृशक्तिकी संयोजक समृद्धी राणा बस्नेतको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा पूर्वसांसद गंगा चौधरी र बेबीसा भण्डारीले पनि पृथ्वीनारायण शाहको योगदानमाथि प्रकाश पार्नुभएको थियो।

गोष्ठीले राष्ट्रनिर्माणमा पृथ्वीनारायण शाहको योगदानलाई पुनः स्मरण गर्दै, त्यसको ऐतिहासिक मूल्याङ्कन गर्ने अवसर प्रदान गरेको आयोजकहरूको भनाइ छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका