Saturday, July 11, 2026
Homeअन्तराष्ट्रियपूर्व बेलायती मन्त्री एन विडेकोम्बेको मृत्यु प्रकरणमा हत्या आशंकामा एक जना पक्राउ

पूर्व बेलायती मन्त्री एन विडेकोम्बेको मृत्यु प्रकरणमा हत्या आशंकामा एक जना पक्राउ

काठमाडौं। पूर्व बेलायती सांसद तथा पूर्व सरकारी मन्त्री ७८ वर्षीया एन विडेकोम्बेको मृत्यु प्रकरणमा हत्या आशंकामा प्रहरीले २६ वर्षीय एक जनालाई पक्राउ गरेको छ।

डेभन र कर्नवाल प्रहरीले शुक्रबार दिएको जानकारीअनुसार बेलायती नागरिक रहेका ती संदिग्धलाई डेभनस्थित न्यूटन एबोटबाट पक्राउ गरिएको हो। हाल उनीसँग घटनाबारे विस्तृत सोधपुछ भइरहेको प्रहरीले जनाएको छ।

पूर्व कन्जरभेटिभ मन्त्री तथा रिफर्म युकेकी पूर्व प्रवक्ता विडेकोम्बेको शव बिहीबार बिहान डार्टमूर क्षेत्रको ह्याटर गाउँस्थित आफ्नै निवासमा फेला परेको थियो। प्रहरीका अनुसार उनको शरीरमा गम्भीर चोटपटक देखिएको छ।

घटनाको प्रारम्भिक अनुसन्धानमा काउन्टर टेररिज्म पुलिसिङ टोली पनि संलग्न भए पनि हालसम्म यो घटनालाई आतंकवादसँग सम्बन्धित नरहेको निष्कर्ष निकालिएको छ।

शुक्रबार आयोजित पत्रकार सम्मेलनमा सहायक प्रमुख प्रहरी अधिकारी म्याट लङम्यानले घटनाको पछाडि कुनै राजनीतिक उद्देश्य रहेको संकेत गर्ने प्रमाण हालसम्म फेला नपरेको बताए। साथै, पक्राउ परेका व्यक्तिको मृतकसँग कुनै पूर्वपरिचय थियो वा थिएन भन्ने विषयमा अहिले नै निष्कर्षमा पुग्न नसकिने उनले स्पष्ट पारे।

प्रहरीका अनुसार अनुसन्धान अझै प्रारम्भिक चरणमै रहेकाले घटनासँग सम्बन्धित कुनै जानकारी भए उपलब्ध गराएर अनुसन्धानमा सहयोग गर्न सर्वसाधारणसँग आग्रह गरिएको छ।

यस घटनाप्रति बेलायती प्रधानमन्त्री केयर स्टारमर सहित विभिन्न राजनीतिक दलका नेताहरूले गहिरो दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका