काठमाडौँ । नेपाली कांग्रेसले पार्टीका पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग अनुशासन उल्लंघन गरेको आरोपमा ७ दिने स्पष्टीकरण माग गरेको छ।
बुधबार बसेको केन्द्रीय अनुशासन समितिको बैठकले पार्टी विधानविपरीत कार्य गरेको ठहर गर्दै खड्कासँग स्पष्टीकरण सोध्ने निर्णय गरेको हो।
अनुशासन समितिका अनुसार खड्काले पार्टीको नक्कली लेटरप्याड प्रयोग गरी आफूसँग नभएको जिम्मेवारी उल्लेख गर्दै अनधिकृत वक्तव्य जारी गरेका थिए। यसअघि पनि उनले २०८२ चैत १४ गते यस्तै प्रकृतिको वक्तव्य जारी गरेका थिए, जसका लागि समितिले २०८२ चैत १८ गते उनलाई एकपटकका लागि सचेत गराएको थियो।
तर चेतावनीका बाबजुद खड्काले पुनः २०८२ चैत ३० गते पार्टीको नक्कली लेटरप्याड प्रयोग गर्दै आफू पदमै रहेको दाबीसहित प्रेस विज्ञप्ति जारी गरेको समितिको भनाइ छ। उक्त कार्य पार्टीको विधान २०१७ (संशोधनसहित) को धारा ३४, उपधारा ८ (घ) अनुसार अनुशासन उल्लंघन भएको जनाइएको छ। समितिले खड्कालाई ७ दिनभित्र चित्तबुझ्दो जवाफ पेश गर्न निर्देशन दिएको छ।
यसैबीच, अनुशासन समितिले प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ सन्दर्भमा परेका उजुरीहरूको म्याद पनि थप गरेको छ। यसअघि चैत मसान्तसम्म रहेको उजुरी दिने समयसीमा अब बढाएर २०८३ वैशाख मसान्तसम्म कायम गरिएको छ। समितिले उक्त समयसीमापछि प्राप्त हुने उजुरीमाथि कारबाही प्रक्रिया अघि नबढाइने स्पष्ट पारेको छ।
कांग्रेसभित्र निर्वाचनका क्रममा अन्तर्घात तथा अनुशासनहीन गतिविधिमा संलग्न व्यक्तिहरूमाथि छानबिन गर्न समितिले सक्रियता बढाएको जनाएको छ।



