काठमाडौँ । राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल अहिले अख्तियारको हिरासतमा छन् । उनलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले छानबिनका लागि अख्तियारको जिम्मा लगाएको उच्च स्रोतले पुष्टि गरेको छ ।
अर्याललाई सोमबार बिहान १० बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बोलाइएको थियो । उनलाई पासपोर्ट खरिद प्रकरणको फाइल लिएर आउन भनिएको थियो । त्यसपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेमकुमार राई मध्यान्ह १२ बजेतिर प्रधानमन्त्री कार्यालय पुगेका थिए ।
प्रधानमन्त्री कार्यालयका अधिकारीहरू र आयोगबाट खटिएका अनुसन्धान अधिकृतहरूले दिनभर फाइल अध्ययन गरेपछि साँझ अर्याललाई अख्तियारको जिम्मा लगाइएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका एक उच्च अधिकृतले रातोपाटीलाई बताए ।
साँझ ९ बजेतिर अर्याल र राहदानी विभागका सूचना प्रविधि निर्देशक सुनिल कुमार केसीलाई आयोगका सुरक्षाकर्मीले नियन्त्रणमा लिएर आयोगमा लगेका हुन् । अख्तियारले पासपोर्ट खरिदमा अनियमितता भएकोबारे अनुसन्धान गरिरहेको बताइएको छ ।


