ताप्लेजुङ: मैवाखोला गाउँपालिका–५ स्थित पाटीडाँडा माध्यमिक विद्यालय, फाकुम्बाबाट एक वर्षअघि चोरी भएका ल्यापटपमध्ये आठ वटा फेला परेका छन्।
शैक्षिक गुणस्तर सुधारका लागि ह्युमन प्राक्टिस फाउन्डेसनको सहयोगमा विद्यालयलाई उपलब्ध गराइएका ११ मध्ये हराइरहेका आठ वटा ल्यापटप फेला परेको गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेमले जानकारी दिनुभयो।
२०८० साल पुस २२ गते राति विद्यालयको ढोका फोडी ल्यापटप चोरी भएको थियो। घटनापछि विद्यालय प्रशासनले जिल्ला प्रहरी कार्यालयमा जानकारी दिएको थियो। प्रारम्भिक अनुसन्धानमा तीनवटा ल्यापटप मात्र बरामद भएका थिए।
प्रहरी, शिक्षक र वडाध्यक्षको संयुक्त टोलीले सोही वडाको पित्तोलुङ भन्ने स्थानमा बाँकी आठ ल्यापटप बोरामा पोको पारेर पुरिएको अवस्थामा फेला पारेको अध्यक्ष वनेमले बताए।
उहाँले विद्यालयजस्तो पवित्र स्थानबाट सार्वजनिक सम्पत्तिमा भएको यस्तो चोरी निन्दनीय र गम्भीर चिन्ताको विषय भएको टिप्पणी गर्नुभयो।
अध्यक्ष वनेमले घटनाको गम्भीर अनुसन्धान गरी संलग्न व्यक्तिमाथि कडा कारबाही गर्न सम्बन्धित निकायलाई आग्रह गर्नुभयो। साथै, यस्ता आपराधिक क्रियाकलापलाई कुनै प्रकारको संरक्षण नदिन पनि सरोकारवालाहरूलाई सचेत गराउनुभयो।


