गलकोट (बागलुङ) : सरकारले बाढी, पहिरोजस्ता विपदबाट ज्यान गुमाएका बागलुङका तीन जनाका परिवारलाई राहतस्वरुप रु छ लाख ५० हजार नगद प्रदान गरेको छ ।
यही असार २७ गते राति बागलुङ नगरपालिका–७ तितौरेमा पहिरोमा परी ज्यान गुमाएकी ५५ वर्षीया खिलकुमारी शर्माकी छोरी निर्मलालाई जिल्ला प्रशासन कार्यालयले रु दुई लाख ५० हजार नगद प्रदान गरेको हो ।
यसैगरी, यही असार १५ गते राति घर पुरिँदा गलकोट नगरपालिका–८ काँडेबाँसका बिसौनीका ५५ वर्षीय प्रेम विक र निजकी ५० वर्षीया श्रीमती वसन्ती विकको मृत्यु भएको थियो । विकका परिवारलाई रु चार लाख नगद प्रदान गरिएको प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद सुवेदीले राससलाई बताउनुभयो । उक्त रकम सङ्घीय र प्रदेश सरकारबाट प्राप्त भएको हो ।


