काठमाडौं । हाल नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव देखिएको छ। यसको असरले कोशी र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभाग र बागमती प्रदेशको हिमाली क्षेत्रमा सामान्यतया बदली रहेको छ भने अन्य पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली देखिएको छ। तराई क्षेत्रको मौसम भने मुख्यतया सफा रहेको छ।
गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा भइरहेको छ।
आज दिउँसो देशको हिमाली क्षेत्रमा सामान्यतया बदली रहनेछ भने पहाडी क्षेत्रमा आंशिक बदली र तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका केही स्थान तथा अन्य पहाडी र हिमाली क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ।
आज राति पनि हिमाली क्षेत्रमा सामान्यतया बदली रहनेछ भने पहाडी र तराई क्षेत्रमा आंशिक बदली रहनेछ। कोशी र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागका साथै अन्य हिमाली क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ।


