काठमाडौं । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली, स्थानीय वायु तथा पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यूनचापीय क्षेत्रको प्रभाव कायम रहेको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित अधिकांश हिमाली तथा पहाडी क्षेत्रमा सामान्यदेखि पूर्ण बदली रहेको छ भने बाँकी तराई क्षेत्रमा आंशिक बदली देखिएको छ।
यसैबीच बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा तथा कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको विभागले जनाएको छ।
आज दिउँसो कोशी र मधेश प्रदेशसहित देशका हिमाली तथा पहाडी क्षेत्रमा सामान्यदेखि पूर्ण बदली रहनेछ भने अन्य तराई क्षेत्रमा आंशिक बदली रहने अनुमान छ। कोशी प्रदेश लगायत अन्य प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा तथा मधेश प्रदेशका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। उच्च हिमाली क्षेत्रमा हल्का हिमपात पनि हुन सक्ने विभागले जनाएको छ।
आज राति पनि हिमाली तथा पहाडी क्षेत्रमा बदली कायम रहनेछ भने तराई क्षेत्रमा आंशिक बदली रहने अनुमान गरिएको छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ। साथै मधेश प्रदेशसहित अन्य हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने विभागले जनाएको छ।


