काठमाडौं । देशको उपल्लो वायुमण्डलमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव कायमै रहेको मौसमविद्हरूले बताएका छन्। यसको असरका कारण हाल कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा सामान्यदेखि आंशिक बदली देखिएको छ।
कोशी र बागमती प्रदेशका उच्च भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपात भइरहेको छ भने अन्य पहाडी क्षेत्रमा आंशिक बदली छ।
दिउँसोको अवस्था
आज दिउँसो तराईका केही स्थानमा बिहान हुस्सु लाग्ने सम्भावना रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा सामान्य बदली रहनेछ भने अन्य पहाडी भूभागमा आंशिक बदली रहने अनुमान छ। तराई क्षेत्रको मौसम भने मुख्यतया सफा रहने जनाइएको छ।
तीनै प्रदेशका पहाडी र हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ। साथै, बाँकी प्रदेशका उच्च भूभागका एक–दुई स्थानमा पनि समान प्रकृतिको वर्षा हुन सक्ने पूर्वानुमान छ।
रातिको अवस्था
आज राति तराईका थोरै स्थानमा तुवाँलो लाग्न सक्ने सम्भावना छ। देशका हिमाली क्षेत्रमा सामान्य बदली रहनेछ, पहाडी क्षेत्रमा आंशिक बदली र तराईमा मौसम मुख्यतया सफा रहनेछ।
कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपात हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
मौसममा हुने परिवर्तनका कारण उच्च पहाडी तथा हिमाली क्षेत्रमा यात्रा गर्नेहरूले सतर्कता अपनाउन आग्रह गरिएको छ।


