Saturday, May 2, 2026
Homeमनोरन्जनपल शाह प्रकरण : कृष्ण जोशीको मुद्दा पनि लगाउमा राखी हेर्ने आदेश,...

पल शाह प्रकरण : कृष्ण जोशीको मुद्दा पनि लगाउमा राखी हेर्ने आदेश, थुनछेक बहस नै भएन

जबरजस्ती करणीको अभियोगमा थुनामा रहेका अभिनेता पल शाहको मुद्दामा बिहीबार पनि सुनुवाइ हुन सकेन । उच्च अदालत पोखरामा बिहीबार पेशी तोकिएको भए पनि अदालतले कृष्ण जोशीको मुद्दालाई पनि लगाउमा राखी हेर्ने आदेश मात्रै भएको छ ।

थुनामै बसेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने तनहुँ जिल्ला अदालत र नवलपुर जिल्ला अदालतको आदेशविरुद्ध शाह रिट लिएर उच्च अदालत पोखरा पुगेका थिए । थुना बाहिरबाटै मुद्दाको पुर्पक्ष गर्न पाउनुपर्ने भन्दै रिट निवेदन लिएर उच्च अदालत पोखरा पुगेका शाहको मुद्दामा यसअघि नै उच्च अदालत पोखराले दुवै जिल्लाको मुद्दालाई लगाउमा राख्न आदेश दिएको थियो ।

तर यहीबीचमा सरकारी वकिलले पल शाहका मतियारका रूपमा मुद्दा चलाइएको कृष्ण जोशीलाई पनि थुनामै राख्नुपर्ने माग गर्दै पुनरावेदनको निवेदन लगेपछि उच्च अदालत पोखराका न्यायाधीशद्वय उज्ज्वल शुक्ल र श्रीधरा कुमारी पुडासैनीको संयुक्त इजलासमा सबै मुद्दालाई लगाउमै राख्ने आदेश दिएका हुन् ।

तनहुँ जिल्ला अदालतको आदेशविरुद्ध सुरुमा पल शाह उच्च अदालत पोखरा पुगेका थिए । तर नवलपुर जिल्ला अदालतले पनि शाहलाई थुनामै पठाउने आदेश दिएपछि शाह दुवै जिल्लाको आदेशविरुद्ध उच्च अदालत पुगेका थिए ।

उच्च अदालत पोखराले यसअघि नै दुवै जिल्लाबाट कैफियत प्रतिवेदन माग गरिसकेको थियो । तर एकसाता अघि मात्रै सरकारी वकिल मतियार मानिएका कृष्ण जोशीलाई पनि थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने निवेदन लिएर उच्च अदालत पुगेको थियो । जिल्ला अदालत तनहुँले जोशीलाई धरौटीमा छाड्ने आदेश दिएको थियो ।

कृष्ण जोशीको हकमा पनि सरकार पुनरावेदनको निवेदन लिएर उच्च अदालत गएपछि अब ती सबै मुद्दालाई लगाउमा राखी एकै स्थानमा सुनुवाइ गर्ने आदेश भएको हो । अब यी सबै मुद्दालाई लगाउमै राखी थुनछेक आदेशका सम्बन्धमा सुनुवाइ हुनेछ ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका