काठमाडौँ: नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ‘क्रिसमस डे’को अवसरमा स्वदेश र विदेशमा रहेका सम्पूर्ण नेपाली इसाई धर्मावलम्बी दिदीबहिनी र दाजुभाइमा शुभकामना प्रकट गरेका छन्।
प्रत्येक वर्ष डिसेम्बर २५ तारिखमा इसाई धर्मावलम्बीहरूले ‘क्रिसमस डे’लाई धार्मिक र सांस्कृतिक उत्सवका रूपमा मनाउने परम्परा छ। यस अवसरमा, सभापति देउवाले पार्टी र व्यक्तिगत तर्फबाट सम्पूर्ण इसाई धर्मावलम्बीलाई सुख, शान्ति र समृद्धिको शुभकामना दिएका छन्, जसको जानकारी कांग्रेसले एक विज्ञप्तिमार्फत सार्वजनिक गरेको छ।
सभापति देउवाले भने, “नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विविधताले सम्पन्न राष्ट्र हो। यिनै विविधताबीच मनाइने विभिन्न चाडपर्व, धार्मिक र सांस्कृतिक रीतिरिवाजलाई सबैले सम्मान र आदर गर्ने हाम्रो परम्परा छ। यी पर्वहरूले सामूहिक भावना अझ प्रगाढ बनाउन, र सबैमा एकता र मेलमिलापको आधार तयार गर्न महत्त्वपूर्ण भूमिका खेलेका छन्।”
साथै, उनले ‘क्रिसमस डे’को अवसरमा सबैका घरपरिवारमा सुख, शान्ति र समृद्धिको वातावरण सिर्जना गर्दै सामाजिक सद्भाव अभिवृद्धि गर्न सबैलाई प्रेरित गर्न शुभकामना व्यक्त गरे।


