Monday, June 22, 2026
Homeसामाचारपरराष्ट्रमन्त्री आरजुलाई पहिलो भ्रमणमा भारतको रातो कार्पेट, दोस्रो भ्रमणमा बेवास्ता

परराष्ट्रमन्त्री आरजुलाई पहिलो भ्रमणमा भारतको रातो कार्पेट, दोस्रो भ्रमणमा बेवास्ता

काठमाडौं: परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा करिब दुई साता लामो युरोप र भारत भ्रमणपछि सोमबार स्वदेश फर्किएकी छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले युरोप भ्रमणका क्रममा महत्त्वपूर्ण भेटघाट र वार्ता सम्पन्न गरेको बताइन्।

मङ्सिर २२ मा युरोप प्रस्थान गरेकी राणाले नेदरल्याण्ड्सको हेगस्थित अन्तर्राष्ट्रिय अदालतमा नेपालका तर्फबाट जलवायु न्यायका लागि आधारहरू प्रस्तुत गरेको जानकारी दिइन्। उनका अनुसार, जलवायु परिवर्तनका कारण नेपालले भोग्नुपरेका असर र क्षतिपूर्तिका विषयमा नेपालले पहिलो पटक आफ्नो अवस्था राखेको थियो।

मन्त्री राणाको नेतृत्वमा मङ्सिर २४ मा अदालतमा प्रस्तुत गरिएको मुद्दाले नेपालका हिमाली क्षेत्र र समुदायमा जलवायु परिवर्तनले पार्ने प्रभाव र यसका समाधानका लागि क्षतिपूर्तिको मागलाई जोड दिएको थियो।

युरोप भ्रमणका क्रममा उनले लक्जेम्बर्गका उपप्रधानमन्त्री तथा विदेश र वैदेशिक व्यापारमन्त्री जेभियर बेटेल, बेल्जियमका विदेशमन्त्री बर्नार्ड क्विन्टिन, र युरोपियन युनियनका उच्च अधिकारीहरूसँग छुट्टाछुट्टै भेटवार्ता गरिन्। यी भेटघाटमा द्विपक्षीय हित, आपसी चासोका मुद्दा, र जलवायु परिवर्तनका प्रभावमाथि छलफल भएको बताइन्। साथै, युरोपेली आकाशमा नेपाली वायुसेवामाथि लगाइएको प्रतिबन्ध हटाउन पहल गर्न आग्रह गरेकी थिइन्।

जर्मनीको पोट्सडामस्थित जलवायु अनुसन्धान संस्थामा उनले वैज्ञानिकहरूसँग अन्तक्र्रिया गर्दै नेपालका हिमाली क्षेत्रमा जलवायु परिवर्तनको प्रभावबारे थप अनुसन्धान गर्न आग्रह गरिन्। त्यस्तै, बर्लिनमा आयोजित समान अधिकारसम्बन्धी सम्मेलनमा लैङ्गिक र यौनिक अल्पसङ्ख्यकहरूको समावेशीकरण र मानव अधिकारमा नेपालले हासिल गरेका उपलब्धिबारे अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराइन्।

युरोप भ्रमणपछि पुस २ गते जर्मनीबाट भारतको नयाँ दिल्ली पुगेकी राणाले भारत-नेपाल आर्थिक सम्मेलनलाई सम्बोधन गरिन्। यस अवसरमा उनले पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको पूर्ण क्षमतामा सञ्चालनका लागि भारतसँग सहकार्य गर्न आग्रह गरेकी थिइन्। साथै, भारतीय एयरलाइन्सले थप उडानका लागि पहल गर्न अनुरोध गरिन्।

तर, यो पटकको दिल्ली भ्रमणलाई भारतले अपेक्षाकृत महत्त्व दिएको देखिएन। चार महिनाअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र समकक्षी डा. एस जयशंकरसँगको भेटले चर्चा कमाए पनि यस पटक मन्त्री राणाको भ्रमण खासै चर्चामा रहेन। भारतीय विदेश मन्त्रालयको नेपाल डेस्कका उपसचिव अमित मिश्र मात्र विमानस्थलमा प्रोटोकलका लागि उपस्थित थिए।

राजनीतिक वृत्तमा, चीनसँग बिआरआई फ्रेमवर्कमा हस्ताक्षर र प्रधानमन्त्री ओलीको पहिलो विदेश भ्रमण चीनतर्फ केन्द्रित भएपछि भारतसँगको सम्बन्धमा चिसोपन देखिएको विश्लेषण गरिएको छ।

परराष्ट्रमन्त्रीले भारत भ्रमणका क्रममा प्रधानमन्त्री ओलीको भारत भ्रमण तय गर्ने प्रयास गरे पनि त्यस्तो सफलता प्राप्त नभएको बताइन्छ। नियमित स्वास्थ्य परीक्षणपछि मन्त्री राणा स्वदेश फर्किएकी छन्। यससँगै प्रधानमन्त्री ओलीको भारत भ्रमण पनि हाललाई अनिश्चित बनेको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका