Friday, June 26, 2026
Homeसामाचारपनौतीमा मापदण्डविपरीत नवीकरण नगरी सञ्चालन भएका तीन खानी-क्रसर उद्योग बन्द

पनौतीमा मापदण्डविपरीत नवीकरण नगरी सञ्चालन भएका तीन खानी-क्रसर उद्योग बन्द

काभ्रेपलाञ्चोक: काभ्रेपलाञ्चोकको पनौती नगरपालिका क्षेत्रमा सञ्चालित तीनवटा खानी तथा क्रसर उद्योग बन्द गरिएको छ। नगरको वडा नं २ र १२ मा मापदण्डविपरीत नवीकरण नगरी सञ्चालन भएका ती उद्योग नगरपालिकाले अनुगमनपछि बन्द गराएको हो।

वडा नं २ स्थित डाइमण्ड स्टोन माइनिङ प्रालि, वडा नं १२ को भालेश्वर रोडा ढुङ्गा उद्योग प्रालि र दीपलक्ष्मी एग्रिगेट एण्ड माइनिङ प्रालिलाई अर्को आदेश नभएसम्मका लागि बन्द गरिएको नगरप्रमुख रामशरण भण्डारीले जानकारी दिए। उनका अनुसार खानी तथा भूगर्भ विभागबाट जारी उत्खनन अनुमति अवधि सकिएपछि समेत बिनाजानकारी सञ्चालन भइरहेको पाइएको थियो। पटक–पटक ताकेता गर्दा पनि उद्योगले अटेर गरेकाले अर्को निर्णय नभएसम्मका लागि बन्द गरिएको हो।

नगरपालिकाले आज बिहान अनुगमन गरी उद्योगहरू बन्द गर्ने निर्णय गरेको थियो। अनुगमनमा नगरप्रमुख भण्डारी, उपप्रमुख गीता बन्जारा, सम्बन्धित वडाध्यक्ष तथा इलाका प्रहरी कार्यालय बनेपाका सुरक्षाकर्मी सहभागी थिए।

यसअघि, गत माघ ९ गते जिल्ला स्तरीय अनुगमन समितिको बैठकले नदी तथा खानीजन्य क्रसर उद्योगहरू बाढीपहिरोको मुख्य कारण भएको निष्कर्ष निकालेको थियो। साथै, नियमविपरीत सञ्चालित ढुङ्गा तथा क्रसर उद्योगले ठूलो धनजनको क्षति पुर्‍याएको जनगुनासो आएको भन्दै ती उद्योग बन्द गराउने निर्णय गरेको थियो।

पनौतीमा १४ वटा क्रसर तथा खानीमध्ये हालसम्म आठ खानी र पाँच क्रसर उद्योग सञ्चालनमा आएका छन्। तीमध्ये तीनवटा उद्योग नगरपालिकाले बन्द गराएको हो। समितिले माघ ३ गते जिल्लाका सबै स्थानीय तहलाई गैरकानुनी रूपमा सञ्चालित ढुङ्गाखानी तथा क्रसर बन्द गर्न पत्राचार गरेको थियो। तर कार्यान्वयन नभएपछि ९ गते पुनः बैठक बसेर नियमविपरीतका उद्योग बन्द गराउने निर्णय लिइएको हो।

यसैबीच, समितिको निर्णय कार्यान्वयन नगरी अन्य स्थानीय तहमा रहेका केही खानी तथा क्रसर उद्योग अझै सञ्चालनमा रहेको पाइएको छ। गत असोज दोस्रो साताको बाढीपहिरोपछि खोलाको बहाव परिवर्तन भएको, बस्ती जोखिममा परेको, वरपरका भूभाग भत्किएको र बगाएको, साथै पहिरो गएको तथ्य उजागर भएको छ। धुलो (डस्ट) र ग्राभेलले खोलाको सतहसमेत बढाएको देखिएको छ।

यस परिप्रेक्ष्यमा, हालको अवस्थाबारे गम्भीर एवं विस्तृत अध्ययन आवश्यक रहेको भन्दै समितिले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई आवश्यक अध्ययनका लागि अनुरोध गरिसकेको छ।

विशेष गरी बाढी प्रभावित स्थानीय तहहरू पनौती, रोशी, बेथानचोक र नमोबुद्धमा धेरै क्रसर तथा खानी छन्। विपद् अघि जिल्लाका १३ स्थानीय तहमध्ये पनौतीमा १४, रोशीमा पाँच, नमोबुद्ध र भुम्लुमा चार, बेथानचोकमा तीन, मण्डनमा दुई, बनेपा, तेमाल र चौरीमा एक–एक क्रसर तथा खानी सञ्चालनमा रहेका थिए।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका