काठमाडौ: युक्रेनलाई रुसमाथि लामो दूरीका क्षेप्यास्त्रहरू आक्रमण गर्न अमेरिकाले दिएको अनुमतिबारे नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पको तर्फबाट कुनै बयान आएको छैन। पद छोड्न लागेका राष्ट्रपति जो बाइडेनले आफ्नो कार्यकालको अन्तिममा यो महत्वपूर्ण निर्णय गरेका हुन् ।
यससँगै अर्को वर्ष जनवरी २० मा राष्ट्रपतिको पदभार ग्रहण गरेपछि ट्रम्पले किभलाई दिइने सहायतालाई निरन्तरता दिनेछन् वा यो निर्णय फिर्ता लिनेछन् भन्ने प्रशन उठेको छ ।
ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको प्रशंसा गरेको इतिहास छ र ट्रम्प युक्रेनलाई दिइने अमेरिकी सहायताको कडा आलोचक पनि हुन् । ट्रम्पले रुस–युक्रेन युद्धलाई एक दिनमै अन्त्य गर्ने दाबी गरेका छन् तर कसरी गर्ने भनेर भनेका छैनन् ।
ट्रम्प र उनको टोलीको टिप्पणीबाट ट्रम्पको योजना अन्तर्गत मस्कोको सेनाले कब्जा गरेको युक्रेनका क्षेत्रहरु रुसलाई हस्तान्तरण गर्ने अनुमान गरिएको छ ।
आउन लागेका अमेरिकी उपराष्ट्रपति जेडी भान्सले सेप्टेम्बरमा एक पोडकास्टमा भनेका थिए “सायद आशा छ कि यस बिन्दुमा हालको सिमानाहरूमा सम्झौता हुन सक्छ जुन पछि गैरसैनिक क्षेत्र बन्नेछ।”
त्यसैले अमेरिकाबाट युक्रेनलाई रुसमाथि ठूलो क्षेप्यास्त्र आक्रमण गर्न दिइएको अनुमति अर्को राष्ट्रपतिले सत्तामा आएपछि परिवर्तन हुन सक्ने अनुमान गरिएको छ ।


