काठमाडौँ: नेपाल सरकारले म्यानमारलाई भूकम्पपीडितहरूको राहतका लागि औषधि, मेडिकल उपकरण लगायतका आवश्यक सामग्री प्रदान गर्ने निर्णय गरेको छ।
मन्त्रिपरिषद्को सोमबार साँझ बसेको बैठकले चैत १५ गते म्यानमारमा गएको विनाशकारी भूकम्पका कारण भएको जनधनको क्षतिलाई ध्यानमा राख्दै राहत सामग्री सहयोगस्वरूप उपलब्ध गराउने निर्णय गरेको हो।
सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङका अनुसार, राहत सामग्री नेपालबाट हवाइमार्ग हुँदै म्यानमार पठाउन लाग्ने खर्च अर्थ मन्त्रालयले नेपाल वायुसेवा निगमलाई उपलब्ध गराउने निर्णय भएको छ।
यस्तै, विभिन्न सरकारी निकायहरूबाट पठाइने राहत सामग्रीका लागि आवश्यक बजेट अर्थ मन्त्रालयले सम्बन्धित निकायहरूलाई सोधभर्नाका रूपमा उपलब्ध गराउनेछ। साथै, घाइतेहरूको तत्काल उपचारका लागि नेपाली सेनाको चिकित्सक टोलीलाई नेपाली सेनाकै विमानमार्फत म्यानमार पठाउने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको मन्त्री गुरुङले जानकारी दिए।


