काठमाडौं । एसियन गेम्स क्रिकेट छनोट प्रतियोगिताको फाइनल खेलमा आज (सोमबार) नेपाल र हङकङ आमनेसामने हुँदैछन्। खेल नेपाली समयअनुसार दिउँसो १२ः१५ बजे सिंगापुर नेसनल क्रिकेट ग्राउन्डमा सुरु हुनेछ।
नेपालले सेमिफाइनलमा ओमानलाई ८ विकेटले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको थियो। जितका लागि ओमानले दिएको ९५ रनको सामान्य लक्ष्य नेपालले ९.२ ओभरमै २ विकेट गुमाएर पूरा गरेको थियो।
नेपालको जितमा लोकेश बमले सर्वाधिक ४४ रनको योगदान दिए। ओपनर कुशल भुर्तेलले २० रन बनाए भने कप्तान रोहित पौडेल २१ रनमा अविजित रहे।
बलिङतर्फ ओमानका समिर ओथामनले २ विकेट हात पारेका थिए।
यसअघि ब्याटिङ गरेको ओमानका लागि कप्तान सफियान मोहम्मदले सर्वाधिक ३८ रन बनाए। जुबिर अली अकबरले २२ तथा अब्दुल्जाली खानले १६ रन जोडे पनि टोलीलाई फाइनलमा पुर्याउन पर्याप्त भएन।
उत्कृष्ट लयमा रहेको नेपाल आज हङकङविरुद्ध जित निकाल्दै प्रतियोगिताको उपाधि आफ्नो नाममा पार्ने लक्ष्यसहित मैदान उत्रनेछ।


