काठमाडौं : नेकपा (एमाले) वरिष्ठ नेता माधवकुमार नेपाल र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच छलफल भएको छ। मंगलबार बिहान कोटेश्वरमा नेपाललाई भेट्न प्रचण्ड पुगेका हुन्।
पछिल्लो समयमा मन्त्रिमण्डल विस्तारका सम्बन्धमा सत्ता साझेदार दलहरुबीचको छलफल बाक्लिएको छ। दुई नेताबीचको छलफलमा मुलुकको समसामयिक राजनीतिक परिस्थिति, मन्त्रिमण्डल विस्तार र सरकारका न्यूनतम साझा कार्यक्रमलगायतका विषयमा छलफल भएको बुझिएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार दिउँसो बसेको प्रमुख शीर्ष नेताको बैठकले गठबन्धन सरकारको नीति तथा कार्यक्रमलाई करिब करिब अन्तिम रुप दिएको छ। एमाले आन्तरिक विवाद सुल्झिन बाँकी रहेको, एमाले अध्यक्ष केपी शर्मा ओली र माधवकुमार नेपालबीच भेटवार्ता हुने तयारी भइरहेको समयमा नेपाल र प्रचण्डको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ।
कांग्रेस सभापति देउवा नेतृत्वमा सरकार गठन भएको लामो समय बित्दासमेत मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन। गठबन्धनभित्रका दल आन्तरिक समस्यामा फसेपछि उनले मन्त्रिपरिषद्लाई पूर्णता दिन नसकेका हुन्। एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहमा सरकारमा जाने नजाने अन्तिम निर्णय नभइसकेका कारण मन्त्रालय भागबन्डा मिलाउन सत्ता गठबन्धनमा सकस परिरहेको छ। गठबन्धनले मन्त्रालयगत भागबण्डासमेत बाहिर ल्याएको छैन। माधव समूहको आधिकारिक धारणा बुझ्न र निर्णय लिन नेपाल र प्रचण्डबीचको छलफलले अगाडि बढ्न सहज हुने जनाइएको छ। सत्ता गठबन्धन कार्यदलको बैठक पनि आज बस्दैछ।a


