काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयले प्रशासनिक सुधार, आर्थिक अनुशासन र कार्यसम्पादनलाई थप प्रभावकारी बनाउने उद्देश्यले देशभर कार्यरत ३६८ जना लेखा प्रमुखको एकैपटक सरुवा गरेको छ।
प्रहरी प्रधान कार्यालयको आन्तरिक लेखापरीक्षण शाखाको सिफारिसका आधारमा विभिन्न प्रहरी कार्यालयमा कार्यरत लेखा प्रमुखहरूलाई नयाँ जिम्मेवारीमा खटाइएको हो।
केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) अबिनारायण काफ्लेका अनुसार निश्चित अवधि पूरा गरेका लेखा प्रमुखहरूलाई अन्य विभाग तथा कार्यालयमा सरुवा गरिएको छ भने आवश्यक योग्यता र मापदण्ड पूरा गरेका अधिकृतहरूलाई नयाँ लेखा प्रमुखको जिम्मेवारी दिइएको छ।
सरुवा सूचीमा प्रहरी निरीक्षक (इन्स्पेक्टर)देखि प्रहरी सहायक निरीक्षक (असई)सम्मका अधिकारीहरू समावेश छन्।
प्रहरी संगठनभित्र आर्थिक पारदर्शिता, वित्तीय अनुशासन र सुशासन कायम राख्न तथा एउटै स्थानमा लामो समय कार्यरत रहँदा आउन सक्ने प्रशासनिक शिथिलता हटाउन आवधिक रूपमा यस्तो सरुवा गर्ने अभ्यास रहँदै आएको छ।
विशेषगरी आर्थिक कारोबार र लेखा प्रणालीको जिम्मेवारी सम्हाल्ने अधिकारीहरूको सरुवामा आन्तरिक लेखापरीक्षण शाखाको प्रतिवेदन, कार्यसम्पादन मूल्याङ्कन तथा सेवा आवश्यकतालाई मुख्य आधार बनाइने गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
प्रहरी प्रशासनका अनुसार यसपटकको व्यापक सरुवालाई संगठनभित्र आर्थिक प्रणालीलाई थप पारदर्शी, उत्तरदायी र प्रभावकारी बनाउने अभियानको महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।


