काठमाडौं: नेपाल परिवार नियोजन संघको विशेष केन्द्रीय साधारण सभा शनिबार ललितपुरको हरिहर भवनस्थित केन्द्रीय कार्यालयमा सम्पन्न भएको छ।
सभामा २६ जिल्लाका शाखा सभापति, केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूको सक्रिय सहभागिता रहेको थियो। सभाले संघको विधान संशोधन प्रस्ताव पारित गर्नुका साथै आगामी दिनका लागि रणनीतिक योजना पनि तय गरेको कास्की शाखाका सभापति नवीन सिग्देलले जानकारी दिनुभयो।
विशेष साधारण सभालाई सम्बोधन गर्दै संघका केन्द्रीय अध्यक्ष राजेन्द्र बहादुर श्रेष्ठले संस्थालाई दातृ निकायहरूमा मात्र भर नपरी आत्मनिर्भर बनाउने दीर्घकालीन योजना बनाउनुपर्नेमा जोड दिनुभयो।
कार्यक्रममा संघले प्रकाशन गरेको भित्तेपात्रोको पनि विमोचन गरिएको थियो।
यस्तै, संघका कार्यकारी निर्देशक डा. प्रविण शाक्य, वरिष्ठ मानव संशाधन प्रबन्धक रविन्द्र कार्की, एक्टिभ कार्यक्रम निर्देशक प्रमिश थापा र अर्थ निर्देशक नवराज ढकालले संघका हालसम्मका गतिविधि र आगामी योजना सम्बन्धी प्रस्तुतिकरण गर्नुभएको थियो।
कार्यक्रमको स्वागत मन्तव्य संघका कोषाध्यक्ष निर्माण कुमार श्रेष्ठले दिनुभएको थियो भने सञ्चालन केन्द्रीय सदस्य कमला सापकोटाले गर्नुभएको थियो।


