धुलिखेल, काभ्रेपलाञ्चोक: प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल सानो राष्ट्र भए पनि सदा स्वतन्त्र रहेको र कहिल्यै कसैको अधीनमा नपरेको बताएका छन्। काठमाडौं विश्वविद्यालय (केयू) को ३०औं दीक्षान्त समारोहको दोस्रो चरणलाई धुलिखेलमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपाल कुनै विदेशी शक्तिको मातहतमा नपरेको र भविष्यमा पनि नपर्ने दृढ विश्वास व्यक्त गरे।
“नेपाल नेभेर पोलोनाइज्ड, कसैको अधीनमा रह्यो र रहने छैन,” उनले भने, “हाम्रा पुर्खाहरूले तोपविरुद्ध चक्कु लिएर लडेर देशको स्वाधीनता जोगाएका हुन्। हामीले विदेशी शक्तिलाई ढिम्किन पनि दिएका छैनौं।”
केयूका कुलपति समेत रहेका प्रधानमन्त्री ओलीले नेपाली जनताको परिचय अब ‘नेपाली बहादुर’ मात्र नभई, ‘इमान्दार, मेहनती र शालिन’ नागरिकको रूपमा समेत प्रस्तुत गर्नुपर्ने बताए। “नेपाल अब दक्ष जनशक्तिको देश हो, रोजगार खोज्ने होइन, दिने देश बन्ने दिशामा अघि बढ्नुपर्छ,” उनले जोड दिए।
प्रधानमन्त्रीले नेपालमा अनुसन्धान (रिसर्च) र नवप्रवर्तन (इन्टोभेसन) को परम्परा पुरानै रहेको उल्लेख गर्दै भने, “हाम्रा पुर्खाहरूले तुलसी, बरपीपल जस्ता वनस्पतिको औषधीय महत्व पहिल्यै पत्ता लगाइसकेका थिए। अब हाम्रा विद्यार्थीहरूले अनुसन्धानमै समर्पित भएर अगाडि बढ्नुपर्छ।”
विश्वमा जल, वायु र आकाशमा शान्ति रहोस् भन्ने कामनाका साथ कर्म गर्नुपर्ने प्रधानमन्त्री ओलीले बताए। “हाम्रा पूर्वजहरूले सधैं सबै क्षेत्रमा शान्तिको कामना गरेका थिए। यही कारण समृद्ध नेपाल, सुखी नेपाली भन्ने लक्ष्य अघि सारिएको हो,” उनले स्पष्ट पारे।
समारोहमा सहभागी दीक्षित विद्यार्थीहरूलाई शुभकामना दिँदै प्रधानमन्त्री ओलीले ज्ञानलाई व्यवहारमा उतार्दै नयाँ चुनौतीको मौलिक समाधान गर्दै अघि बढ्न आह्वान गरे। “अध्ययन कहिल्यै सिद्ध हुँदैन। तपाईंहरूको योगदानले नेपालको शैक्षिक स्तरबारे उठाइएका शंका चिर्न सकिन्छ,” उनले भने।
नेपालको शिक्षा प्रणाली गुणस्तरीय नभएको भए हाम्रा चिकित्सक र नर्सहरू विदेशमा उत्कृष्ट रूपमा कार्य गर्न नसक्ने उल्लेख गर्दै उनले भने, “हाम्रो जनशक्तिको सफलताले नै नेपालको शिक्षा प्रणालीको उत्कृष्टता पुष्टि गर्दछ।”
समाप्तिमा प्रधानमन्त्री ओलीले “विद्याले सबै दिन्छ, तर घमण्ड त्याग्नुपर्छ। मित्रता बढाउनुहोस्, सेवाभावले काम गर्नुहोस्, र आफ्नो जीवनशैलीमा शालिनता ल्याउनुहोस्,” भन्ने सन्देश दिए।
सो अवसरमा उनले विभिन्न संकायमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई प्रमाणपत्र प्रदान गरे।


