Thursday, October 29, 2026
Homeराजनीतिनिर्वाचन ३१ दिन बाँकी : प्रत्यक्षतर्फको ३० लाख मतपत्र छापियो

निर्वाचन ३१ दिन बाँकी : प्रत्यक्षतर्फको ३० लाख मतपत्र छापियो

काठमाडौं, १९ माघ: आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ हालसम्म ३० लाख मतपत्र छपाइ सम्पन्न भएको छ। निर्वाचन आयोगका अनुसार कूल २५ जिल्लाका लागि आवश्यक मतपत्र छपाइ सकिएको हो।

आयोगले जनक शिक्षा सामग्री केन्द्र, भक्तपुरमा मतपत्र छपाइ नियमित रूपमा भइरहेको जनाएको छ। समानुपातिक निर्वाचन प्रणालीतर्फका लागि दुई करोड आठ लाख ३० हजार मतपत्र छपाइ यसअघि नै सम्पन्न भइसकेको छ।

त्यस्तै, मतदाता शिक्षा प्रयोजनका लागि १० लाख ९८ हजार २०० थान नमूना मतपत्र पनि छपाइ भइसकेको आयोगले जनाएको छ। निर्वाचन शिक्षा प्रदान गर्ने उद्देश्यले आयोगको निर्वाचन सूचना सम्प्रेषण तथा समन्वय केन्द्रअन्तर्गतको मतदाता शिक्षा एकाइले हालसम्म १५८ वटा सामग्री स्वीकृत गरी सार्वजनिक गरिसकेको छ।

उक्त सामग्री आयोगको आधिकारिक फेसबुक पेज, एक्स (ट्विटर), टिकटक तथा युट्युबमार्फत प्रसारण गरिएको छ। मतदाता, राजनीतिक दल, उम्मेदवार तथा सरोकारवालालाई लक्षित यी सामग्रीले निर्वाचनको स्वच्छता अभिवृद्धि गर्नुका साथै नागरिकलाई आधिकारिक र विश्वासनीय सूचना उपलब्ध गराउने तथा मिथ्या र भ्रमपूर्ण सूचनाको प्रभाव न्यूनीकरणमा सहयोग पुग्ने आयोगको विश्वास छ।

यसैबीच, प्रतिनिधिसभा सदस्य निर्वाचनबारे अन्तरराष्ट्रिय समुदायलाई जानकारी गराउने उद्देश्यले आयोगको समन्वयमा परराष्ट्र मन्त्रालयले काठमाडौँस्थित कूटनीतिक नियोग तथा संयुक्त राष्ट्रसंघीय निकायका प्रमुख र प्रतिनिधिलाई ब्रिफिङ गरेको छ।

सो कार्यक्रममा आयोग र गृह मन्त्रालयका प्रतिनिधिको उपस्थितिमा निर्वाचनको वातावरण, आयोगबाट भएका तयारी, तथा राष्ट्रिय एवं अन्तरराष्ट्रिय पर्यवेक्षणसम्बन्धी विषयमा जानकारी गराइएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका