Thursday, October 29, 2026
Homeराजनीतिनिर्वाचन सुरक्षा कडा बनाउँदै प्रहरी, प्रदेशमा एआईजी र संवेदनशील जिल्लामा एसएसपी खटाइने

निर्वाचन सुरक्षा कडा बनाउँदै प्रहरी, प्रदेशमा एआईजी र संवेदनशील जिल्लामा एसएसपी खटाइने

काठमाडौं । आगामी निर्वाचन सुरक्षालाई प्रभावकारी र व्यवस्थित बनाउन नेपाल प्रहरीले प्रदेशस्तरमा अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) लाई अनुगमनका लागि खटाएको छ।

प्रहरी प्रधान कार्यालयका अनुसार निर्वाचन सुरक्षाको संवेदनशीलतालाई ध्यानमा राख्दै एआईजीहरूलाई सातै प्रदेशमा सुरक्षा अवस्थाको अनुगमन गर्न पठाइएको हो। अनुगमन प्रतिवेदनका आधारमा केही संवेदनशील जिल्लामा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) र प्रहरी उपरीक्षक (एसपी) लाई थप मद्दत टोलीका रूपमा खटाइने तयारी गरिएको छ।

कोशी प्रदेशको झापा, मधेश प्रदेशका धनुषा, सर्लाही र पर्सा तथा बागमती प्रदेशको चितवनमा एसएसपी खटाउने योजना बनाइएको छ। प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार एआईजीहरूको प्रतिवेदन फागुनको पहिलो साताभित्र आउने र त्यसपछि निर्वाचन अवधिभर अतिरिक्त सुरक्षा टोली परिचालन गरिनेछ।

हाल कोशी प्रदेशमा मानवस्रोत विकास विभागका एआईजी राजन अधिकारीले सुरक्षा अनुगमन सम्पन्न गरिसकेका छन् भने प्रदेश समन्वय विभागका एआईजी डम्बरबहादुर बिक मधेश प्रदेशको समग्र सुरक्षास्थिति अनुगमनमा खटिएका छन्। एआईजीहरूको प्रतिवेदन र सम्बन्धित प्रदेशका डीआईजीहरूको सिफारिसका आधारमा आवश्यक जिल्लामा थप सुरक्षा टोली पठाइने प्रहरीले जनाएको छ।

प्रहरीले हालसम्म झापा, सर्लाही, चितवन, धनुषा र पर्सालाई उच्च सुरक्षा चुनौती भएका जिल्लाका रूपमा विश्लेषण गरेको छ। अन्य जिल्लामा पनि उम्मेदवारको अवस्था र विगत निर्वाचनका घटनाका आधारमा संवेदनशीलता निर्धारण गरी सोहीअनुसार प्रहरी जनशक्ति परिचालन गर्ने तयारी गरिएको छ।

निर्वाचन सुरक्षाका लागि प्रहरीलाई विशेष अनुशिक्षणसमेत दिइसकिएको छ। तालिममा मानवअधिकार संरक्षण तथा आवश्यक अवस्थामा बल प्रयोग गर्ने विषय समेटिएको प्रहरीले जनाएको छ। साथै निर्वाचन सुरक्षाका लागि विशेष कमाण्ड संरचना बनाइएको र खुला सीमा नाकामा सम्बन्धित निकायसँग समन्वय भइरहेको छ।

जिल्ला सुरक्षा समितिको प्रतिवेदनअनुसार मतदान केन्द्रमा ८ देखि ८० जनासम्म प्रहरी खटाइनेछ। प्रतिनिधिसभा निर्वाचन एकीकृत सुरक्षा योजना २०८२ अनुसार नेपाल प्रहरीले कुल ७५ हजार ४७३ प्रहरी परिचालन गर्ने तयारी गरेको छ। प्रहरी परिचालन फागुनको पहिलो सातादेखि सुरु हुने जनाइएको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका