काठमाडौं । प्रतिनिधिसभा निर्वाचन २०८२ नजिकिँदै जाँदा चितवन राष्ट्रिय निकुञ्जले वन्यजन्तु संरक्षणसँगै पर्यटक सुरक्षालाई प्राथमिकतामा राख्दै सुरक्षा सतर्कता बढाएको छ।
निर्वाचनका कारण निकुञ्ज आसपास नयाँ व्यक्तिको आवतजावत बढ्ने भएकाले अवाञ्छित गतिविधि रोक्ने र पर्यटकलाई सुरक्षित वातावरण प्रदान गर्ने उद्देश्यले सुरक्षा व्यवस्थामा कडाइ गरिएको निकुञ्ज प्रशासनले जनाएको छ।
निर्वाचन अवधिमा सुरक्षाकर्मीको ध्यान अन्यत्र मोडिन सक्ने जोखिमलाई ध्यानमा राख्दै विशेष गस्ती तथा निगरानी प्रणाली सक्रिय गरिएको छ। सफारी, जंगल वाक, बोटिङ तथा होटल–लज क्षेत्रमा सुरक्षाकर्मीको उपस्थिति थपिएको छ।
सूचना अधिकारी अविनास थापा मगरका अनुसार निर्वाचनको माहोलमा चितवन भ्रमणमा आउने आन्तरिक तथा बाह्य पर्यटकले कुनै असहजता महसुस नगर्ने गरी आवश्यक व्यवस्था गरिएको छ। उनले पर्यटन चितवनको पहिचान भएकाले संरक्षण र पर्यटनबीच सन्तुलन कायम गरेर काम भइरहेको बताए।
नेपाली सेना, निकुञ्ज सुरक्षाकर्मी र स्थानीय समुदायको सहकार्यमा कोर क्षेत्र, मध्यवर्ती क्षेत्र तथा प्रमुख पर्यटकीय मार्गहरूमा नियमित गस्ती बढाइएको छ। ९५२.६३ वर्ग किलोमिटर क्षेत्रमा फैलिएको निकुञ्जमा रहेका २२ मध्यवर्ती उपभोक्ता समिति, ५७ स्थायी तथा ३ अस्थायी सुरक्षा पोष्टलाई ‘हाइ अलर्ट’मा राखी कर्मचारी परिचालन गरिएको छ।
स्थानीय पर्यटन व्यवसायीहरूले सुरक्षा सतर्कता बढेसँगै पर्यटकको विश्वास कायम रहने अपेक्षा व्यक्त गरेका छन्। निर्वाचनको चहलपहलबीच पनि चितवन राष्ट्रिय निकुञ्जले सुरक्षित, जिम्मेवार र दिगो पर्यटन प्रवर्द्धनलाई निरन्तर प्राथमिकतामा राखेको जनाएको छ।


