काठमाडौँ । निर्वाचन आयोगले आम मतदातालाई निर्वाचन प्रक्रियाबारे जानकारी गराउने उद्देश्यले मतदाता शिक्षा कार्यक्रमलाई तीव्र बनाएको छ।
मतदातालाई मताधिकारप्रति सचेत बनाउने र सही मत संकेत गर्न सक्षम गराउने लक्ष्यसहित आयोगले डिजिटल प्लेटफर्ममार्फत निरन्तर सचेतनामूलक सामग्री प्रसारण गरिरहेको जनाएको छ। सही तथा तथ्यपरक सूचना प्रवाह गर्दै मत बदर हुने अवस्थालाई न्यूनीकरण गर्न कार्यक्रम सञ्चालन गरिएको आयोगले स्पष्ट पारेको छ।
डिजिटल माध्यममा सञ्चालन भइरहेको सचेतना कार्यक्रमलाई वडा तहसम्म विस्तार गर्ने लक्ष्यसहित आयोगले माघ १९ गतेदेखि विशेष मतदाता शिक्षा कार्यक्रम कार्यान्वयनमा ल्याएको छ। स्वीकृत कार्यक्रमअनुसार प्रत्येक स्थानीय तहका सबै वडामा एक–एक स्वयंसेवक परिचालन गरिनेछ।
सम्बन्धित निर्वाचन कार्यालयमार्फत छनोट प्रक्रिया अघि बढाइनेछ भने स्थानीय स्तरमा कार्यरत बाल विकास सहजकर्ता, मातृ–शिशु कार्यकर्ता, स्थानीय स्वास्थ्य स्वयंसेविका तथा सामुदायिक अध्ययन केन्द्रका परिचालकमध्येबाट स्वयंसेवक चयन गरिने व्यवस्था गरिएको छ।
मतदाता शिक्षा सामग्री उत्पादन तथा प्रभावकारी प्रचार–प्रसारका लागि आयोगले सरकारी स्वामित्वका सञ्चारमाध्यम र विभिन्न नियामक निकायसँग सहकार्य पनि गरेको छ। राष्ट्रिय समाचार समिति (रासस), सार्वजनिक सेवा प्रसारण नेपाल, गोरखापत्र संस्थान, विज्ञापन बोर्ड तथा प्रेस काउन्सिल नेपालसँग आयोगले सहमति गरिसकेको जनाएको छ।
आयोगका अनुसार प्रभावकारी मतदाता शिक्षाले मतदान प्रक्रिया, मत संकेत तथा मिथ्या सूचना पहिचान गर्ने क्षमतामा वृद्धि गरी स्वतन्त्र, निष्पक्ष र विश्वसनीय निर्वाचन सुनिश्चित गर्न सहयोग पुग्नेछ।
आगामी प्रतिनिधिसभा निर्वाचन फागुन २१ गतेका लागि तय गरिएको छ। निर्वाचनमा प्रत्यक्ष प्रणालीबाट १६५ जना तथा समानुपातिक प्रणालीबाट ११० जना प्रतिनिधि चयन हुने व्यवस्था रहेको छ।


