काठमाडौं। निर्वाचन आयोगले निर्वाचन आचारसंहिता प्रभावकारी रूपमा कार्यान्वयन गर्न अनुगमन अधिकृत तोकेको छ।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार जिल्लास्तरमा आचारसंहिता अनुगमनलाई सशक्त बनाउन सहायक प्रमुख जिल्ला अधिकारीलाई अनुगमन अधिकृतको जिम्मेवारी दिइएको हो। आयोगका अनुसार सहायक प्रमुख जिल्ला अधिकारीलाई आर्थिक विषय बाहेकका क्षेत्रको अनुगमन जिम्मा दिइएको छ।
त्यसैगरी, प्रमुख कोष नियन्त्रक तथा कोष नियन्त्रकहरूलाई आर्थिक विषयसँग सम्बन्धित आचारसंहिता अनुगमनको जिम्मेवारी तोकिएको आयोगले जनाएको छ। आर्थिक कारोबार, खर्च व्यवस्थापन र वित्तीय अनुशासनसम्बन्धी विषयमा उनीहरूले फरक–फरक कार्यक्षेत्रमा काम गर्नेछन्।
आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन हुने तय भएको छ। निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी तथा विश्वासनीय रूपमा सम्पन्न गर्न निर्वाचन आयोगले निर्वाचन आचारसंहिता, २०८२ लागू गरिसकेको छ। उक्त आचारसंहिता माघ ४ गतेदेखि लागू भएको आयोगले जनाएको छ।


