Saturday, May 2, 2026
Homeसामाचारनिजी क्षेत्रमैत्री बजेट ल्याइने, आर्थिक रूपान्तरणमा ठूलो फड्को मार्ने सरकारको तयारी: अर्थमन्त्री...

निजी क्षेत्रमैत्री बजेट ल्याइने, आर्थिक रूपान्तरणमा ठूलो फड्को मार्ने सरकारको तयारी: अर्थमन्त्री वाग्ले

काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट निजी क्षेत्रको मनोबल उच्च बनाउने गरी निर्माण गरिने बताएका छन्।

शनिबार बाह्रखरी मिडियाद्वारा आयोजित कार्यक्रममा बोल्दै उनले नेपालले अब परम्परागत आर्थिक ढाँचाबाट अघि बढ्दै रूपान्तरणतर्फ ठूलो फड्को मार्नुपर्ने आवश्यकता औंल्याए।

उनले सन् २०१४ मा भारतको प्रतिव्यक्ति आम्दानीको अवस्थासँग नेपाल अहिले समान स्तरमा पुगेको उल्लेख गर्दै यसलाई ‘आर्थिक प्रस्थान बिन्दु’ का रूपमा लिनुपर्ने बताए। सुशासन र स्पष्ट आर्थिक मार्गचित्रसहित अघि बढ्ने अवसर आएको भन्दै उनले अर्थतन्त्रलाई गति दिने विश्वास व्यक्त गरे।

अर्थमन्त्री वाग्लेले आफूले अघि सारेको ‘तौलरहित र दूरीरहित’ अर्थतन्त्रको अवधारणालाई अब कार्यान्वयनमा लैजाने बताए। भूपरिवेष्ठित अवस्थाबाट उत्पन्न अवरोध हटाउन डिजिटलाइजेसनलाई प्रमुख साधनका रूपमा लिइएको उनको भनाइ छ।

सूचना प्रविधिलाई उच्च प्राथमिकता दिँदै सूचना प्रविधि विभागलाई प्रधानमन्त्री कार्यालय मातहत राखिएको जानकारी दिँदै उनले यसबाट सेवा प्रवाहमा सुधार आउने विश्वास व्यक्त गरे।

राजनीतिक स्थिरताबारे बोल्दै उनले वर्तमान सरकार पाँच वर्षसम्म स्थिर रहने दाबी गरे। यसले लगानीकर्तामा नीतिगत विश्वास बढाउने र लगानीमैत्री वातावरण सिर्जना गर्ने उनको भनाइ छ।

कानुन कार्यान्वयनमा सरकार कडा हुने स्पष्ट पार्दै उनले इमानदार उद्यमीहरूलाई ढुक्क भएर लगानी गर्न आग्रह गरे। आगामी बजेटमार्फत निजी क्षेत्रका समस्या सम्बोधन गरिने र लगानी सुरक्षा तथा करार कार्यान्वयनलाई प्राथमिकता दिइने उनले बताए।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका