Tuesday, May 5, 2026
Homeसामाचारनागढुंगा–सिस्नेखोला सुरुङमार्ग साउनदेखि पूर्ण सञ्चालनमा ल्याउने तयारी

नागढुंगा–सिस्नेखोला सुरुङमार्ग साउनदेखि पूर्ण सञ्चालनमा ल्याउने तयारी

काठमाडौँ । नेपालको पहिलो आधुनिक यातायात सुरुङमार्ग नागढुंगा–सिस्नेखोला सुरुङमार्ग आगामी साउनको दोस्रो सातादेखि पूर्ण रूपमा व्यावसायिक सञ्चालनमा ल्याउने तयारी गरिएको छ।

आयोजना प्रमुख सौजन्य नेपाल का अनुसार हालको प्रगति र सञ्चालन कार्ययोजनाबारे जानकारी दिँदै जेठ अन्तिमसम्म प्राविधिक परीक्षण (ट्रायल) सम्पन्न गर्ने र साउनदेखि नियमित सवारी आवागमन खुला गर्ने लक्ष्य रहेको छ।

सोमबार प्रतिनिधिसभा पूर्वाधार विकास समिति का सभापति आशिष गजुरेल नेतृत्वको टोलीले गरेको स्थलगत अनुगमनका क्रममा आयोजनाको पछिल्लो अवस्था सार्वजनिक गरिएको हो।

आयोजनाको भौतिक प्रगति करिब ९९ प्रतिशत र वित्तीय प्रगति ९६ प्रतिशत पुगेको छ। गत वर्षको मनसुनमा पश्चिम खण्डमा गएको पहिरोले टोल बुथ लगायतका संरचनामा क्षति पुर्‍याएकाले सञ्चालनमा ढिलाइ भएको आयोजनाले जनाएको छ।

परामर्शदाता प्रमुख रमेश कोइराला का अनुसार कानुनी प्रक्रिया, सञ्चालन मोडालिटी परिवर्तन तथा प्रशासनिक निर्णयका कारण पनि केही ढिलाइ भएको हो। सुरुवातमा सडक विभागले सञ्चालन गर्ने भनिए पनि पछि मन्त्रिपरिषद्को निर्णयअनुसार प्रतिस्पर्धाबाट सेवा प्रदायक छनोट गरिएको हो।

सुरुङमार्गको व्यवस्थापन तथा सञ्चालनका लागि चीनको युसिन–एआरटी (संयुक्त) कम्पनीसँग पाँच वर्षका लागि सम्झौता भइसकेको छ। सञ्चालनका लागि करिब १५० जना प्राविधिक तथा प्रशासनिक जनशक्ति आवश्यक पर्ने अनुमान गरिएको छ।

निर्माण कम्पनीले छिट्टै आयोजना नेपाल सरकारलाई औपचारिक रूपमा हस्तान्तरण गर्ने तयारी गरेको छ। यो सुरुङमार्ग सञ्चालनमा आएपछि काठमाडौँ प्रवेशद्वारमा हुने सवारी जाम घट्ने, साथै यात्रा समय र इन्धन खर्चमा उल्लेखनीय बचत हुने अपेक्षा गरिएको छ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका