काठमाडौं: नेपाल प्रहरीले आउँदो चैत ४ गतेदेखि नयाँ ३१औं महानिरीक्षक (आईजीपी) पाउने भएको छ। ३० वर्षे सेवा अवधिको नियम कायमै रहेकाले हालका प्रहरी महानिरीक्षक (आईजीपी) बसन्त कुँवर अनिवार्य अवकाशमा जाँदैछन्। कुँवरको अवकाशसँगै प्रहरी नेतृत्वमा नयाँ नेतृत्व चयनको दौडधुप तीव्र बनेको छ।
नयाँ आईजीपीको नियुक्तिका लागि सरकारले मन्त्रिपरिषद्को बैठकमार्फत चैत ४ गतेभित्र निर्णय गर्नेछ। नेतृत्वका लागि प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) दीपक थापा, सुदीप गिरी र टेकबहादुर तामाङ मुख्य दावेदारका रूपमा अघि आएका छन्। यी तीन जना मध्येको एक जनाले नक्सालस्थित प्रहरी प्रधान कार्यालयको ‘हट सिट’ सम्हाल्ने निश्चित भएको छ।
प्रहरी संगठनभित्र नयाँ नेतृत्व चयनसँगै पुरानालाई विदाई र नयाँलाई स्वागतको तयारी चलिरहेको छ। आइजीपी सचिवालय र निवासमा सहयोगी तथा उच्च अधिकारीहरूको आवत-जावत बढेको छ। सम्भावित तीन दावेदारहरू सक्रियताका साथ दौडधुपमा रहेका छन्, तर एकले अर्कालाई प्रत्यक्ष रूपमा निषेध गर्ने रणनीति भने नअपनाएको बताइन्छ।
आईजीपीको नेतृत्व परिवर्तनसँगै संगठनमा ठूलो फेरबदल हुने देखिन्छ। नयाँ आईजीपी चयन भएसँगै हाल कार्यरत ६ जना एआइजी पद रिक्त हुनेछन्। ती रिक्त पदहरूमा बढुवाका लागि तीव्र शक्ति संघर्ष सुरु भइसकेको छ। ३२औं र ३३औं आईजीपीको सम्भावित उम्मेदवार बन्ने प्रतिस्पर्धा भएकाले एआइजीहरू उच्च स्तरमा लबिङ गरिरहेका छन्।
हालसम्मको राजनीतिक तथा प्रशासनिक समीकरणलाई हेर्दा दीपक थापा आईजीपीको दौडमा अगाडि देखिएका छन्। तर, अन्तिम निर्णय मन्त्रिपरिषद्को बैठकले गर्ने भएकाले अन्तिम घडीमा कुनै नयाँ समीकरण बन्ने सम्भावना पनि उत्तिकै छ।


