काठमाडौं । धान रोपाइँको मुख्य सिजनमा किसानलाई मल अभाव हुन नदिन सरकारले रासायनिक मलको आपूर्ति तीव्र बनाएको छ। कृषि, वन तथा वातावरण मन्त्रालयका अनुसार डीएपी र युरिया मलको आयात तथा ढुवानी प्रक्रिया निरन्तर अघि बढिरहेको छ।
मन्त्रालयले सोमबार २५० मेट्रिकटन डीएपी मल विराटनगर भन्सार आइपुगेको जनाएको छ। त्यसैगरी, एक हजार २५० मेट्रिकटन डीएपी मल बोकेको अर्को रेल र्याक मंगलबार भारतको रक्सौल आइपुग्नेछ।
कृषि तथा पशुपन्छी विकास मन्त्री गीता चौधरीका अनुसार कोलकाताबाट थप दुई हजार ५०० मेट्रिकटन डीएपी मल बोकेको अर्को रेल र्याक पनि नेपालतर्फ प्रस्थान गरिसकेको छ। यससँगै आगामी केही दिनभित्र थप चार हजार मेट्रिकटन डीएपी मल नेपाल भित्रिने अपेक्षा गरिएको छ।
यता, ३० हजार मेट्रिकटन युरिया मलको ढुवानी प्रक्रिया पनि अन्तिम चरणमा पुगेको मन्त्री चौधरीले जानकारी दिएकी छन्।
मन्त्रालयले धान रोपाइँको चापलाई ध्यानमा राख्दै देशभर आवश्यक मात्रामा मल उपलब्ध गराउन आपूर्ति व्यवस्थापनलाई थप प्रभावकारी बनाइएको जनाएको छ।


