काठमाडौं । बलात्कारपीडित महिलाको राष्ट्रिय संगठनकी संस्थापक देवी खड्काले द्वन्द्वकालीन यौन हिंसापीडित महिलाहरू अझै पनि मानसिक आघात (ट्रमा) बाट पूर्ण रूपमा मुक्त हुन नसकेको बताएकी छन्।
द्वन्द्वमा यौन हिंसा उन्मूलनका लागि अन्तर्राष्ट्रिय दिवसको अवसरमा शुक्रबार आयोजित कार्यक्रममा बोल्दै उनले पीडित महिलाहरूको आत्मविश्वास पहिलेको तुलनामा बढेको भए पनि ट्रमाको प्रभाव जीवनभर रहिरहने बताइन्।
उनले भनिन्, “हाम्रो आत्मबल पहिलेभन्दा बलियो भएको छ, हामी केही हदसम्म स्थिर भएका छौँ। तर यसको अर्थ हामी ट्रमाबाट पूर्ण रूपमा मुक्त भइसकेका छौँ भन्ने होइन। ट्रमा जीवनभर साथ रहने अवस्था हो। हामी त्यसलाई केही मात्रामा जित्ने प्रयास गरिरहेका छौँ।”
खड्काले यौन हिंसापीडित महिलाहरूका पक्षमा केही उपलब्धि हासिल भए पनि अझै धेरै काम गर्न बाँकी रहेको बताइन्। इतिहासका पीडाहरूलाई सम्बोधन गर्दै सुधारका प्रयासहरू जारी रहेकाले निरन्तर पहल आवश्यक रहेको उनको भनाइ थियो।
उनले विगतमा करिब तीन सय यौन हिंसापीडित महिलाको स्वास्थ्य उपचारका लागि विशेष प्रक्रिया अघि बढाइएको स्मरण गराउँदै त्यससम्बन्धी निर्णय मन्त्रिपरिषद्बाट पूर्ण रूपमा प्रमाणीकरण नभएको बताइन्।
उनका अनुसार कानुनी आधार स्पष्ट नभए पनि त्यस कार्यक्रमअन्तर्गत वितरण गरिएका परिचयपत्रका आधारमा धेरै पीडित महिलाले सरकारी अस्पतालबाट उपचार सेवा प्राप्त गरेका छन्।
खड्काले उक्त व्यवस्थाले धेरै महिलाको जीवन बचाउन सहयोग पुगेको उल्लेख गर्दै अहिले पनि पीडित महिलाहरूले सोही परिचयपत्र प्रयोग गरी सरकारी अस्पतालमा उपचार गरिरहेको जानकारी दिइन्।


