काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिमतर्फ सरदर स्थानभन्दा उत्तरमा नेपाल नजिक रहेकाले देशभर बदलीसँगै वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
हाल देशभर साधारणतया बदली रहेको छ। बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा तथा कोशी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा मध्यम वर्षा भइरहेको छ। गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षासमेत भइरहेको विभागले जनाएको छ।
दिउँसोको मौसम
मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशभर साधारणतया बदली रहनेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका धेरै स्थानमा तथा कोशी र बागमती प्रदेशका हिमाली र पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ।
लुम्बिनी र सुदूरपश्चिमका तराई भूभागका धेरै स्थानमा, बागमती र गण्डकीका तराई भूभागका केही स्थानमा तथा मधेश र कोशी प्रदेशका तराई भूभागका थोरै स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।
गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभाग तथा लुम्बिनी र सुदूरपश्चिमका पहाडी तथा तराई भूभागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने विभागले जनाएको छ।
राति पनि वर्षाको सम्भावना
राति पनि देशभर साधारणतया बदली रहनेछ। हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ।
गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका धेरै स्थानमा तथा कोशी र बागमती प्रदेशका पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।
त्यस्तै, लुम्बिनी र सुदूरपश्चिमका तराई भूभागका धेरै स्थानमा, बागमती र गण्डकीका तराई भूभागका केही स्थानमा तथा मधेश र कोशीका तराई भूभागका थोरै स्थानमा मध्यम वर्षा हुन सक्नेछ।
रातिको समयमा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभाग तथा लुम्बिनी र सुदूरपश्चिमका तराई भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ।
विशेषगरी सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भूभागका एक–दुई स्थानमा धेरै भारी वर्षा हुन सक्ने भएकाले बाढी, पहिरो तथा डुबानको जोखिम भएका क्षेत्रमा आवश्यक सतर्कता अपनाउनुपर्ने देखिएको छ।


