काठमाडौं । देशका अधिकांश क्षेत्रमा मनसुनको प्रभाव क्रमशः विस्तार हुँदै गएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण भूभाग तथा गण्डकी र लुम्बिनी प्रदेशका केही क्षेत्रमा मनसुन सक्रिय छ। आगामी चारदेखि पाँच दिनभित्र गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका बाँकी क्षेत्रमा पनि मनसुन फैलिने सम्भावना रहेको महाशाखाले जनाएको छ।
हाल देशका हिमाली तथा पहाडी क्षेत्रमा सामान्यदेखि पूर्ण बदली तथा तराईका अधिकांश क्षेत्रमा आंशिक बदली रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ।
महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भेगका एक–दुई स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ। उच्च हिमाली क्षेत्रमा हल्का हिमपात पनि हुन सक्ने जनाइएको छ।
यस्तै, कोशी प्रदेशको तराई, मधेश प्रदेशका केही स्थान तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका एक–दुई क्षेत्रमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने अनुमान गरिएको छ।
महाशाखाले लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही क्षेत्रमा तातो हावा (लु) चल्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।
आज राति पनि कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली रहने तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहने पूर्वानुमान गरिएको छ। यी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा हुने तथा उच्च हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको छ।
त्यसैगरी, कोशी प्रदेशको तराई, मधेश प्रदेशका केही स्थान, बागमती र गण्डकी प्रदेशका तराईका केही क्षेत्र तथा लुम्बिनी र सुदूरपश्चिमका तराईका एक–दुई स्थानमा पनि मध्यम वर्षा हुन सक्ने अनुमान गरिएको छ।
महाशाखाले विशेषगरी कोशी प्रदेशका पहाडी तथा तराईका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने चेतावनी दिँदै बाढी, पहिरो, डुबान, चट्याङ तथा नदी–नालामा आकस्मिक बहाव बढ्न सक्ने जोखिमप्रति उच्च सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।


