काठमाडौँ: हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेकाले पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहनेछ।
महाशाखाका अनुसार, आज दिउँसो सुदूरपश्चिम, कर्णाली, गण्डकी र कोशी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। ती प्रदेशका केही स्थानमा हल्का वर्षा हुन सक्ने सम्भावना छ। साथै, कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा तथा अन्य प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक-दुई स्थानमा हल्का हिमपात हुने सम्भावना रहेको छ।
आज राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। बाँकी प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली रहने भने अन्य स्थानमा मौसम सफा रहने अनुमान गरिएको छ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा एक-दुई स्थानमा हल्का हिमपात हुन सक्छ।
आगामी २४ घण्टामा सुदूरपश्चिम, कर्णाली, गण्डकी र कोशी प्रदेशका पहाडी क्षेत्रका एक-दुई स्थानमा हल्का वर्षा तथा कोशी, बागमती, गण्डकीसहित अन्य प्रदेशका उच्च पहाडी र हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको छ। महाशाखाले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई उड्डयनमा आंशिक प्रभाव पर्न सक्ने भन्दै सतर्कता अपनाउन सबैलाई अनुरोध गरेको छ।


