Tuesday, July 28, 2026
Homeसामाचारदेवानगञ्ज घटनाबारे मानव अधिकार आयोगको चासो, विस्तृत अनुसन्धान सुरु

देवानगञ्ज घटनाबारे मानव अधिकार आयोगको चासो, विस्तृत अनुसन्धान सुरु

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले सुनसरीको देवानगञ्ज गाउँपालिकामा दुई समुदायबीच भएको झडप र प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको घटनाप्रति गम्भीर चासो व्यक्त गर्दै विस्तृत अनुसन्धान सुरु गरेको जनाएको छ।

आयोगले सोमबार जारी गरेको विज्ञप्तिअनुसार कोशी प्रदेश कार्यालय, विराटनगरबाट घटनाको प्रारम्भिक अनुगमन सम्पन्न भइसकेको छ भने मानव अधिकारको दृष्टिकोणबाट विस्तृत छानबिन अघि बढाइएको छ।

आयोगका अनुसार विद्युत् पोलमा झण्डा राख्ने विषयबाट सुरु भएको विवाद डिजे बजाउने क्रममा उग्र बन्दै दुई पक्षबीच ढुङ्गामुढा र तोडफोडमा परिणत भएको थियो। स्थिति नियन्त्रणमा लिन प्रहरीले चलाएको गोली लागेर स्थानीय ओमप्रकाश मेहताको मृत्यु भएको छ भने अन्य नौ जना घाइते भएका छन्।

घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको र उनीहरूको न्यूरो अस्पताल, विराट नर्सिङ होम तथा नोबेल मेडिकल कलेजमा उपचार भइरहेको आयोगले जनाएको छ।

घटनापछि विभिन्न स्थानमा टायर बालेर प्रदर्शन हुनुका साथै आन्दोलनकारी लाठी र रडसहित सडकमा उत्रिएपछि सुरक्षा अवस्था चुनौतीपूर्ण बनेको आयोगको भनाइ छ। स्थिति नियन्त्रणमा लिन कप्तानगञ्जलगायत प्रभावित क्षेत्रमा नेपाली सेना समेत परिचालन गरिएको छ।

आयोगले प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी कार्यालय, अस्पताल प्रशासन तथा स्थानीय सरोकारवालासँग घटनाबारे निरन्तर जानकारी लिइरहेको जनाएको छ।

आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलद्वारा जारी विज्ञप्तिमा घटनाको निष्पक्ष अनुसन्धान, दोषीमाथि कानुनी कारबाही, मृतकका परिवारलाई उचित राहत र क्षतिपूर्ति, तथा घाइतेहरूको निःशुल्क र प्रभावकारी उपचार सुनिश्चित गर्न सरकारसँग आग्रह गरिएको छ।

साथै, आयोगले राजनीतिक दल, नागरिक समाज, मानव अधिकारकर्मी र सर्वसाधारणलाई संयमित रहन, सामाजिक सद्भाव कायम राख्न तथा संवादमार्फत विवादको शान्तिपूर्ण समाधान खोज्न सबै पक्षसँग अपिल गरेको छ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका