Wednesday, October 21, 2026
Homeमुख्य समाचारदेउवा क्याबिनेटमा दुई मन्त्रालय खाली, सुजाता रक्षामन्त्री बन्ने चर्चा हल्लामै सीमित

देउवा क्याबिनेटमा दुई मन्त्रालय खाली, सुजाता रक्षामन्त्री बन्ने चर्चा हल्लामै सीमित

नेपाली काँग्रेसका नेता डा.मिनेन्द्र रिजालले पुस १ मा रक्षामन्त्रीबाट राजीनामा दिए । काँग्रेसको महामन्त्रीमा व्यहोरेको पराजयसँगै डा.रिजालले रक्षामन्त्री पदबाट राजीनामा दिएसँगै दुई महिनादेखि रक्षा मन्त्रालय मन्त्रीविहीन छ । त्यस्तै, प्रधानन्यायाधीशको कोटामा मन्त्री बनेका गजेन्द्र हमालले राजीनामा दिएपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय पनि खाली छ ।

डा.रिजालले राजीनामा गरेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले अहिलेसम्म रक्षामन्त्री नियुक्त गर्न सकेका छैनन् । प्रधानमन्त्रीले सो मन्त्रालय आफैंसँग राखेका छन् । यसअघि सुजाता कोइरालालाई रक्षामन्त्री बनाउने चर्चा चले पनि प्रधानमन्त्री देउवाले निर्णय लिन सकेका छैनन् ।

रक्षामन्त्रीबाट राजीनामा दिने रिजालको निर्णयलाई धेरैले निकै चासोका साथ हेरेका थिए । धेरै मतान्तरले महामन्त्री पदमा हारेपछि रिजालले आम चासोबारे यस्तो जवाफ दिए– ‘आफ्नो अनुहार त राम्रो छ भन्न बहाना खोज्नु राम्रो होइन, चार वर्ष काँग्रेस चल्नुपर्छ त्यसका लागि मेरो यो रक्षामन्त्रीबाट राजीनामा दिने निर्णय उपयुक्त छ ।’

१४ औं महाधिवेशनमा आफूलाई सभापतिमा सघाएका प्रकाशमान सिंहलाई प्रधानमन्त्री देउवाले उप–प्रधानसहित एउटा मन्त्रालय दिने बचन दिएको बताइएको छ । प्रधानमन्त्रीले सिंहलाई समेत उपप्रधान तथा रक्षामन्त्रीमा नियुक्त गर्ने चर्चा कांग्रेस वृत्तमा चलेको छ । तर, देउवाले अहिलेसम्म मन्त्री नियुक्त गरेका छैनन् ।

रक्षा मन्त्रालय नेपाली सेनाको विभागीय मन्त्रालय हो । विभागीय मन्त्री नहुँदा विभागीय प्रमुखहरुले भेट्न र मन्त्रालयका समस्याबारे छलफल गर्न पाएका छैनन् । मन्त्रालयको जरुरी काममा रक्षा सचिव किरणराज शर्माले प्रधानमन्त्रीसँग समन्वय गर्छन् । तर, समय व्यवस्थापनमा समस्या हुने गरेको मन्त्रालयका एकजना अधिकृतले रातोपाटीलाई बताए ।

रक्षा मन्त्रालयका प्रवक्ता सहसचिव कृष्णप्रसाद ज्ञवालीले भने विभागीय मन्त्री नहुँदा काम नै रोकिने गरी बाधा नपरेको रातोपाटीलाई बताए ।

उद्योग मन्त्रालय ९ महिनादेखि नेतृत्वविहीन

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय देशको औद्योगिक प्रवद्र्धन, वैदेशिक व्यापार र आपूर्ति व्यवस्थालाई चुस्तदुरुस्त बनाउनुपर्ने निकाय हो । तर, यही निकाय विगत ९ महिनादेखि नेतृत्वविहीन अर्थात् विभागीय मन्त्रीविहीन छ ।

गत जेठ ६ गते सर्वोच्च अदालतले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली सरकारका सात मन्त्रीको नियुक्ति संविधान अनुसार नभएको व्याख्या गरेको थियो । सर्वोच्चले नेकपा (माओवादी केन्द्र) बाट उम्मेदवार भइ चुनाव जितेर नेकपा (एमाले) मा प्रवेश गरेको सात मन्त्रीको नियुक्त संविधान अनुसार नभएको व्याख्या गरेको थियो ।

सो व्याख्याअनुसार उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टको नियुक्ति पनि संविधानअनुरुप थिएन । सर्वोच्चले गरेको सोही व्याख्यापछि रिक्त मन्त्री पदमा अहिलेसम्म पदपूर्ति हुन सकेको छैन । यद्यपि, त्यसयता उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले दुई जना मन्त्री पाइसकेको छ । तर, मन्त्रालयले केही दिनको पाहुनाका रूपमा मात्रै मन्त्री पाएको हो ।

यस्तै, पूर्वप्रधानमन्त्री ओलीले जेठ अन्तिम साता मन्त्रिपरिषद् विस्तार गर्दै जनता समाजवादी पार्टी (जसपा)का नेता राजकिशोर यादवले मन्त्रालयको जिम्मेवारी पाएका थिए । उनको नियुक्ति पनि असंवैधानिक भएको सर्वोच्चको ठहरपछि तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले नै यसको जिम्मेवारी सम्हालेका थिए । त्यसपछि, सर्वोच्चको आदेशसँगै प्रधानमन्त्री बनेका शेरबहादुर देउवाले यो मन्त्रालयको जिम्मेवारी गजेन्द्र हमाललाई दिएका थिए ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको कोटामा मन्त्री पद पाएको भन्दै चौतर्फी विरोध भएपछि हमालले पद सम्हालेको तेस्रो दिनमै राजीनामा दिएका थिए ।

त्यसयता मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री देउवा स्वयमले सम्हाल्दै आएका छन् । प्रधानमन्त्री देउवाले आफैँले मन्त्रालयको जिम्मेवारी सम्हाल्न थालेको ८ महिना भइसकेको छ ।

कानून निर्माणमै समस्या

विभागीय मन्त्रीविहीन बन्दा मन्त्रालयले बनाउने औद्योगिक, व्यापारिक र आपूर्तिसम्बन्धी कानून निर्माणका फाइल अलपत्र परेका छन् । मन्त्री नहुँदा मन्त्रालयले बनाउनुपर्ने महत्त्वपूर्ण ऐन र कानुनका फाइल महिनौंसम्म अलपत्र परेका हुन् । उद्योग मन्त्रालयले मन्त्रिपरिषदमा पेश गर्नुपर्ने फाइल पनि अलपत्र परेका छन् । अहिले उद्योग सम्बन्धित कानुनका तीनवटा फाइल दराजमै थन्किएका छन् ।

‘औद्योगिक व्यवसाय ऐन, २०७६’ को नियमावली र ‘बौद्धिक सम्पत्ति ऐन, २०२२’ लाई प्रतिस्थापन गरेर बनाइने नयाँ ऐन अलपत्र परेका हुन् ।

यसबाहेक मन्त्रालयले गर्ने अन्य दैनिक कामकारबाहीका कामसमेत अलपत्र परेको मन्त्रालय स्रोत बताउँछ । यसका साथै, जग्गाको हदबन्दी छुटका कामसमेत उद्योग मन्त्रालयकै भागमा पर्छ । मन्त्री नहुँदा यो काम समेत प्रभावित बनेको छ ।

नयाँ उद्योगले पाएनन् अनुमति

मन्त्रालय मातहत रहेर काम गर्ने गरी औद्योगिक तथा लगानी प्रवद्र्धन बोर्ड गठन गरिएको छ । यो बोर्डमा मन्त्रालयका मन्त्री, उद्योग सचिव, वाणिज्य सचिव, गभर्नर, श्रम सचिव, कृषि सचिव, लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत र उद्योग विभागका महानिर्देशकसहितको टोली हुन्छ ।

यो बोर्डले क्रसर, सुर्ती र मदिराजन्य उद्योगलाई सञ्चालनको अनुमति दिनुपर्छ । बोर्डको अनुमतिबिना ती क्षेत्रका उद्योग सञ्चालन गर्न पाइँदैन । यस्तै, यी क्षेत्रका उद्योगको क्षमता विस्तार र स्थानान्तरण गर्नुपरे समेत बोर्डमै प्रस्ताव लग्नुपर्छ ।

तर, वि.सं. २०७७ सालको चैत महिनामा लेखराज भट्ट नेतृत्वमा बसेको अन्तिम बैठकपछि अहिलेसम्म बोर्ड बैठक बस्न सकेको छैन । हाल बोर्डले अनुमति दिनुपर्ने क्षेत्रका १० वटा उद्योगले अनुमति माग्दै उद्योग विभागमा निवेदन दिएका छन् । विभागले बोर्ड समक्ष पेस गर्नुपर्नेमा मन्त्री नहुँदा पेश हुन नसकेको महानिर्देशक रामचन्द्र तिवारीले जानकारी दिए ।

तीनवटा मदिरासँग सम्बन्धित र सातवटा क्रसर उद्योगले अनुमति माग्दै विभागमा निवेदन दिएका हुन् । जसको निर्णय मन्त्रीको उपस्थितिबिना सम्भव छैन ।

 विभागीय मन्त्री नहुँदा पनि काम भइरहेको छ : सचिव

उद्योग सचिव अर्जुनप्रसाद पोखरेलले भने विभागीय मन्त्री नहुँदा पनि दैनिक कामकारवाहीमा खासै समस्या नभएको बताए । उनका अनुसार अत्यावश्यक काम सीधै प्रधानमन्त्री शेरबहादुर देउवामार्फत मन्त्रिपरिषद्मा पेश हुन्छ । त्यसबाहेक, मन्त्रीबिनै सचिवले गर्ने कामकारबाही दैनिक रूपमा भइरहेको उनको भनाइ छ ।

यद्यपी, औद्योगिक तथा लगानी बोर्डको बैठक र द्वीपक्षीय व्यापारसम्बन्धी बैठकहरूको तथा अन्तर्राष्ट्रिय व्यापारमा गर्नुपर्ने व्यापारसम्बन्धी सम्झौताका काम भने प्रभावित भएको मन्त्रालयका कर्मचारी बताउँछन् । यसबाहेक अन्य काम नरोकिएको कर्मचारीहरूको भनाइ छ ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका