काठमाडौँ । मेडिकल व्यवसायी तथा दुर्गा प्रसाईं लाई चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिइएको छ। ईश्वर राज पौडेल ले उनलाई चार दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएका हुन्।
जिल्ला प्रहरी परिसर काठमाडौं ले प्रसाईंविरुद्ध सार्वजनिक शान्ति विरुद्धको कसुरमा अनुसन्धान गरिरहेको जनाएको छ। राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक प्रसाईं सोमबार साँझ भक्तपुरबाट पक्राउ परेका थिए।
प्रहरीका अनुसार सार्वजनिक शान्ति भंग गर्ने तथा अफवाह फैलाएको आरोपमा अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालयबाट म्याद लिइएको हो। प्रसाईंले सरकारसँग भएको सम्झौता कार्यान्वयन नभए अनिश्चितकालीन बन्द गराउने र चुनाव हुन नदिने अभिव्यक्ति दिँदै आएका थिए।
यसअघि पनि उनी माघ २३ गते पक्राउ परेका थिए। त्यसबेला उनलाई हाजिर जमानीमा रिहा गरिएको थियो। निर्वाचनसम्बन्धी अभिव्यक्तिलाई आधार बनाएर प्रहरीले साइबर ब्यूरोमार्फत बयान लिएको थियो।
त्यसैगरी, माघ ५ गते पोखराबाट समेत पक्राउ परेका प्रसाईंलाई सोही दिन रिहा गरिएको थियो। अहिलेको घटनामा प्रहरीले थप अनुसन्धान जारी राखेको जनाएको छ।


