Tuesday, September 15, 2026
Homeअन्तराष्ट्रियदिल्लीमा ‘संसद मार्च’ तनावग्रस्त, प्रदर्शनकारी–प्रहरी झडपपछि सुरक्षा कडा

दिल्लीमा ‘संसद मार्च’ तनावग्रस्त, प्रदर्शनकारी–प्रहरी झडपपछि सुरक्षा कडा

नयाँ दिल्ली । ककरोच जनता पार्टी (सीजेपी) ले आह्वान गरेको ‘संसद मार्च’का क्रममा सोमबार भारतको राजधानी नयाँ दिल्ली तनावग्रस्त बनेको छ। संसद्को मनसुन अधिवेशन जारी रहेका बेला हजारौँ विद्यार्थी, युवा तथा समर्थकहरू सडकमा उत्रिएपछि प्रदर्शनकारी र प्रहरीबीच विभिन्न स्थानमा झडप भएको छ।

नीट परीक्षामा भएको भनिएको अनियमितता, शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा तथा सामाजिक अभियन्ता सोनम वाङचुकको रिहाइको माग गर्दै प्रदर्शनकारीहरूले जन्तर मन्तर, रायसिना रोड, रफी मार्ग र कर्तव्य पथ क्षेत्रमा प्रदर्शन गरेका हुन्। प्रदर्शन चर्किएपछि सरकारले आन्दोलनकारीसँग वार्ताको पहल गरेको छ।

सीजेपीका प्रवक्ता आशुतोष रांका र सौरव दासले केन्द्रीय मन्त्री जेपी नड्डासँग भेट गर्दै शिक्षामन्त्रीको राजीनामा, सोनम वाङचुकको रिहाइ तथा नीट पेपर लिक प्रकरणपछि आत्महत्या गरेका परीक्षार्थीका परिवारलाई एक करोड रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने लगायतका तीनबुँदे माग पेश गरेका छन्।

प्रदर्शनका कारण संसद् भवन आसपासको सुरक्षा व्यवस्था अत्यन्त कडा बनाइएको छ। करिब ८ हजार प्रहरी तथा अर्धसैनिक बल परिचालन गरी व्यापक ब्यारेकेडिङ गरिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

आन्दोलनमा तृणमूल कांग्रेसकी सांसद महुआ मोइत्रा, अभिनेता प्रकाश राज, अभिनेत्री शबाना आजमी तथा आम आदमी पार्टीसहित विभिन्न विपक्षी दलका नेताहरूले ऐक्यबद्धता जनाएका छन्। आन्दोलनकारीहरूले प्रहरीले लाठीचार्ज र अश्रुग्यास प्रहार गरेको आरोप लगाएका छन् भने प्रहरीले बल प्रयोग आवश्यक परिस्थितिमा मात्र गरिएको जनाएको छ।

यसैबीच, लामो समयदेखि आमरण अनशनमा रहेका सामाजिक अभियन्ता सोनम वाङचुक हाल सफदरजंग अस्पतालमा छन्। उनले शिक्षा प्रणालीमा सुधारका लागि सरकारले ठोस प्रतिबद्धता जनाए वा संसद्मा विषय उठाउने सुनिश्चितता भए आफ्नो अनशन तोड्न सकिने बताएका छन्।

आन्दोलनका क्रममा केही प्रदर्शनकारी घाइते भएको तथा सीजेपीका अध्यक्ष अभिजित दीपकेलाई नियन्त्रणमा लिइएको दाबी सामाजिक सञ्जालमा गरिएको छ। तर दिल्ली प्रहरीले ती दाबीलाई भ्रामक र तथ्यहीन भन्दै खण्डन गरेको छ।

सीजेपी औपचारिक रूपमा दर्ता भएको राजनीतिक दल नभई, शिक्षा क्षेत्रमा देखिएको अनियमितताविरुद्ध सुरु गरिएको अभियान हो। नीट परीक्षामा प्रश्नपत्र चुहावटलगायतका घटनापछि सुरु भएको यो अभियानले पछिल्लो समय व्यापक जनसमर्थन बटुल्दै आएको छ।

आन्दोलनलाई लिएर भारतीय राजनीतिमा तीव्र बहस सुरु भएको छ। कांग्रेस अध्यक्ष मल्लिकार्जुन खड्गे, आम आदमी पार्टीका संयोजक अरविन्द केजरीवाल, पूर्वउपमुख्यमन्त्री मनिष सिसोदिया तथा अन्य विपक्षी नेताहरूले सरकारलाई आन्दोलनकारीका मागप्रति संवेदनशील बन्न आग्रह गरेका छन्।

सीजेपीले भने सरकारबाट आधिकारिक प्रतिबद्धता नआएसम्म आन्दोलन जारी रहने चेतावनी दिएको छ। विश्लेषकहरूका अनुसार यो प्रदर्शन पछिल्ला वर्षहरूमा प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकारविरुद्ध राजधानी दिल्लीमा भएको सबैभन्दा ठूलो सार्वजनिक विरोध प्रदर्शनमध्ये एक मानिएको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका