म्याग्दी, ३ फागुन: गण्डकी प्रदेश सरकारले मुस्ताङको दामोदरकुण्ड र याकखर्क जोड्ने सडक स्तरोन्नतिका लागि रु. १० करोड बजेटको स्रोत सुनिश्चित गरेको छ। आर्थिक मामिला मन्त्रालयले भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयअन्तर्गत चालु आर्थिक वर्ष २०८१/८२ मा ठेक्का प्रक्रिया अघि बढाउने गरी मुस्ताङका दुई सडकका लागि रु. पाँच/पाँच करोड बजेट विनियोजन गरेको हो।प्रदेश सभा सदस्य बिकल शेरचनका अनुसार घरपझोङ गाउँपालिका–२ मार्फादेखि धमाङ–आलुबारी–याकखर्क सडक र लोघेकर–दामोदरकुण्ड गाउँपालिकाको केन्द्र चराङदेखि सुरखाङ–यारा–घारा हुँदै घुयुमा ठाटीसम्मको सडक स्तरोन्नति योजना छनोट भएको छ।
मार्फा–धमाङ–आलुबारी सडकको महत्त्व
करिब १३ किलोमिटर दूरीको मार्फा–धमाङ–आलुबारी सडक क्षेत्रमा पर्ने धमाङमा ठूलो स्याउ बगैँचा रहेको छ। परापूर्वकालदेखि मार्फाका बासिन्दाले आलु खेती गर्ने आलुबारी क्षेत्र जडीबुटी खेती तथा दृश्य अवलोकनका हिसाबले महत्त्वपूर्ण मानिन्छ।याकखर्क धौलागिरी चक्रीय पदमार्ग हुँदै म्याग्दी तर्फ जाने–आउने बाटोमा पर्ने भएकाले धौलागिरी हिमाल आरोहण र पदयात्राका लागि जाने पर्यटकलाई यसले सहज बनाउने अपेक्षा गरिएको छ। यस क्षेत्रमा याकचौरीका लागि खर्कहरू रहेका छन्, जसले पशुपालन व्यवसायलाई प्रवर्द्धन गर्नेछ।
दामोदरकुण्ड जाने सडक स्तरोन्नतिबाट धार्मिक र पर्यटकीय लाभ
हिन्दु तथा बौद्ध धर्मावलम्बीहरूको साझा तीर्थस्थल दामोदरकुण्ड जाने चराङ–सुरखाङ–यारा–घारा–घुयुमा ठाटी सडक स्तरोन्नति भएपछि स्थानीय बासिन्दासँगै तीर्थयात्री र पर्यटकहरूलाई समेत सहज हुनेछ।प्रदेश सभा सदस्य नम्दु गुरुङले धार्मिक, पर्यटन र पशुपालनका हिसाबले यस सडकको विशेष महत्त्व रहेको बताउनुभयो।
अन्य पूर्वाधार योजनाहरू
गत वर्ष वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको वडा नं. १, २ र ३ जोड्ने रानीपौवा–झोङ–तेताङ सडक तथा लोमान्थाङको पर्खाल वरपरको सडक पक्की बनाउन रु. १०/१० करोड बजेटको योजना सुरू भएको थियो।रानीपौवा–झोङ–तेताङ सडकलाई कालीगण्डकी कोरिडोरको जोमसोम–कोरला सडकको छुसाङ–कागबेनी खण्डको विकल्पका रूपमा प्रयोग गर्न सकिने भएकाले कागबेनी–मुक्तिनाथ–उपल्लो मुस्ताङ आवतजावत थप सहज हुने बताइएको छ।पूर्वाधार विकास कार्यालय मुस्ताङका प्रमुख अजय श्रेष्ठका अनुसार यी दुई योजना ठेक्का प्रक्रियामार्फत निर्माणाधीन अवस्थामा छन्। यस वर्ष झोङ–छेङ्गुर सडकमा पर्ने खोलामा मोटरेबल पुल निर्माणका लागि रु. ९ करोड १२ लाख बजेट सुनिश्चित गर्ने प्रक्रिया अन्तिम चरणमा रहेको प्रदेश सांसद शेरचनले जानकारी दिनुभयो।


